सक्षम नेताको अभाव भयो : मन्त्री श्रेष्ठ

काठमाण्डु टुडे २०७० पुष २५ गते ८:०५ मा प्रकाशित

काठमाण्डु, २५ पुस – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रामकुमार श्रेष्ठले देशमा अपार प्राकृतिक सौन्दर्य र सम्पदा हुँदाहुँदै पनि सक्षम नेताको अभावमा पर्यटनको उचित विकास गर्न नसकिएको बताएका छन् ।

नेपाल एसोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस (नाट्टा)को ५० औँ वार्षिक साधारणसभालाई विहीबार राजधानीमा सम्बोधन गर्दै उनले पर्यटन क्षेत्रको नीति राम्रो भए पनि कार्यान्वयनमा कमी कमजोरी रहेको बताए ।

मुख्यसचिव लीलामणि पौडेलले सुदूरपश्चिम क्षेत्रमा एकीकृत पर्यटकीय विकास कार्यक्रम बनाई लागू गर्नसके त्यस क्षेत्रको आर्थिक विकासमा सघाउ पुग्ने बताउँदै यस कार्यमा निजी क्षेत्रसँग सहकार्य गर्न सरकार तयार रहेको उल्लेख गरे ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष सुरज वैद्यले पर्यटन उद्योगलाई निजी क्षेत्रले नै अघि बढाएको बताउँदै पर्यटकीय गन्तव्यस्थलको भौतिक पूर्वाधार विकासमा सरकारले पर्याप्त लगानी गर्नुपर्ने धारणा राखे ।

यस्तै नाट्टाका अध्यक्ष पवित्रकुमार कार्की, पर्यटन मन्त्रालयका सचिव सुशील घिमिरे, नेपाल पर्यटन बोर्डका कामु प्रमुख कार्यकारी अधिकृत सुवास निरौलाले पर्यटन क्षेत्रमा देखिएका चुनौती र अवसरलाई सामूहिक प्रयासबाट समाधान गर्नसके पर्यटनमा सङ्ख्यात्मकका साथै गुणात्मक विकास गर्नसकिने बताए ।

सो अवसरमा मन्त्री श्रेष्ठले नाट्टा उत्कृष्ट पुरस्कार, नाट्टा पर्यटन पत्रकारिता पुरस्कार, सगरमाथा पुरस्कार र नाट्टा भाष्कर पुरस्कारबाट विभिन्न व्यक्ति र पत्रकारहरुलाई पुरस्कृत गरे । पुरस्कृत व्यक्तित्वहरु थाइल्यान्डका पर्यटनविद् सोमसङ सोचाफिमुख, नेपाली व्यवसायी विक्रम पाण्डे र पत्रकारहरु रमेश तिवारी, संगम प्रसार्इं छन् ।

विसं २०२२ मा स्थापना भएको ट्राभल तथा टुर व्यवसायीहरुको छाता संगठन नाट्टामा हाल ४२१ व्यवसायी सदस्य आबद्ध रहेका छन् । सो साधारणसभाबाट नयाँ कार्यसमितिको निर्वाचन हुने बताइएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us