नारायणगढ–लोथर सडकखण्ड मर्मत गरिने

काठमाण्डु टुडे २०७० पुष २५ गते ८:०१ मा प्रकाशित

चितवन, २५ पुस – विगत लामो समयदेखि मर्मतसम्भारको अभावमा बिग्रिएको पूर्व–पश्चिम राजमार्गअन्तर्गतको नारायणगढ–लोथर सडकखण्डलाई पूर्णरुपमा मर्मत गरिने भएको छ ।

सडकखण्डका बिग्रिएका ठाउँको मर्मत गरी पूरै क्षेत्रमा एक तह थप गरिने भएको छ । प्राविधिक भाषामा ‘अस्पाल्ट ओभरलेस’ नामको सो मर्मत गर्न बोलपत्र आह्वान भइसकेको डिभिजन सडक कार्यालय भरतपुरका प्रमुख हरिकुमार पोख्रेलले बताए ।

नेपाल सरकारको आफ्नै बजेटबाट रु १७ करोडको लागतमा निर्माण गर्न लागिएको प्रमुख पोख्रेलले जानकारी दिए । केही दिनभित्रै बोलपत्र टुङ्गो लगाएर फागुनबाट काम थाल्ने उनको भनाइ छ ।

असार मसान्तभित्र काम सम्पन्न गर्ने डिभिजन सडक कार्यालयले जनाएको छ । सो सडकखण्डको २६ किमी मर्मत गरिनेछ । सडकको पूरै लम्बाइ ३६ किमी छ । लोथरबाट नारायणगढतर्फ २३ किलोमिटर र नारायणगढको पुलबाट तीन किलोमिटर लोथरतर्फ मर्मत गरिने डिभिजन प्रमुख पोख्रेलले बताए ।

बजेट अभावका कारण बीचको १० किलोमिटर क्षेत्रको मर्मतपछि गरिने उनको भनाई छ । सो सडक मर्मतसँगै पूर्व–पश्चिम राजमार्ग भएर यात्रा गर्ने यात्रु र स्थानीय बासिन्दा लाभान्वित हुने भएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us