
भक्तपुर, २५ पुस–भक्तपुरका छ वटा सरकारी विद्यालय विद्यार्थी अभावमा पूर्णरुपमा बन्द भएका छन् । थप ५० वटा विद्यालय समेत विद्यार्थी अभावमा बन्द हुने अवस्थामा छन् ।
जिल्ला शिक्षा कार्यालय भक्तपुरका अनुसार बन्द भएका विद्यालयमा छालिङको महाकाली प्रावि, छालिङ कै नाट्यश्वरी प्रावि, छालिङ कै मनकामना प्रावि, ताथलीको दक्षिणकाली प्रावि, बागेश्वरीको गणेश प्रावि, दुवाकोटको विनायक सरस्वती निम्न माध्यमिक विद्यालय र भक्तपुर नगरपालिका चोछेँको बालबोध शान्ति निमावि रहेका छन् । यी विद्यालयमा विद्यार्थी नआएपछि विद्यालय बन्द गर्नुपरेको जिल्ला शिक्षा कार्यालयका अधिकृत ललितविक्रम सिंहले जानकारी दिए ।
बन्द विद्यालयमा भौतिक संरचना र अन्य सामग्री हेर्न एकजना शिक्षकलाई भने दैनिक हाजिर हुने गरी तोकिएको छ । बन्द विद्यालयका अन्य शिक्षकहरुलाई अरु विद्यालयमा सरुवा गरिएको छ ।
विद्यालय बन्द भए पनि दुवाकोटको विनायक सरस्वती निम्न माध्यमिक विद्यालयमा भने हालै इसिडी सञ्चालन गरिए पछि केही बच्चा आएका छन् ।
५० विद्यालय पनि बन्द हुने अवस्थामा
त्यसैगरी, जिल्लामा अन्य ५० वटा विद्यालय पनि बन्द हुने अवस्थामा पुगेका छन् । त्यस्ता विद्यालय धेरै प्राथमिक र थोरै निम्न माध्यमिक तहका छन् ।
जिल्ला शिक्षा कार्यालयका अधिकृत सिंहले भने, ‘जिल्लाका थप ५० वटा विद्यालयमा केही वर्षदेखि विद्यार्थी सङ्ख्या न्यून छन्, ती विद्यालय बन्द गर्नुपर्ने अवस्थामा पुगिसकेका छन्, विद्यार्थी बढाउन हामीले निर्देशन दिएका छौं ।’
नियमानुसार ५० जनाभन्दा कम विद्यार्थी भएका विद्यालय बन्द या गाभ्नुपर्ने हुन्छ । यी विद्यालयमा १० देखि २२ जनासम्म मात्र विद्यार्थी रहेकाले तत्काल यी विद्यालयलाई बन्द गराउने या गाभ्ने भन्ने बारेमा कुनै निर्णय गरिएको छैन । बन्द गर्नेभन्दा पनि विद्यार्थी बढाउने योजनामा शिक्षा कार्यालय रहेको छ ।