तराईवासीले पाँच दिनदेखि घाम देख्न पाएनन्

काठमाण्डु टुडे २०७० पुष २५ गते ५:३४ मा प्रकाशित

काठमाण्डु, २५ पुस–शीतलहर तथा बाक्लो कुहिरोका कारण पश्चिम तराईका जिल्लाको जनजीवन थप कष्टकर बन्दै गएको छ । दस दिनअघि परेको हिउँदे झरीपछि एक्कासि शीतलहर र बाक्लो कुहिरोले आकास ढाकेपछि तराईका जिल्लामा पाँच दिनदेखि घाम लागेको छैन ।

चिसोसँगै बग्ने सिरेटोले पनि यस क्षेत्रका नागरिकमध्ये कमजोर घरसंरचना भएका परिवारहरू अधिक प्रभावित भएको पाइएको छ । अत्यधिक चिसोका कारण अत्यावश्यक कामबाहेक नागरिक घरदेखि बाहिर निस्केको पाइँदैन भने कार्यालयहरूमा सेवाग्राहीको उपस्थिति पनि पातलिएको छ ।

स्थानीय अस्पतालमा कोल्ड डायरिया, रुघाखोकी, टाइफाइड, निमोनियालगायत चिसो प्रभावित रोगका बिरामीको पनि चाप बढेको जनाइएको छ  । स्थानीय प्रशासन कार्यालयले चिसोबाट नागरिकलाई जोगाउन आवश्यक गृहकार्य थालेको छ ।

चिसो अध्याधिक बढेपछि स्थानीय आफ्नो टोलको चोकचोकमा आफैले जोहो गरेको दाउरा बालेर दिनभरि आगो तापेर बसेको देख्न सकिन्छ ।

तराईका साथै पश्चिम क्षेत्रका पहाडी तथा हिमाली जिल्लामा पनि हिउँ परेकाले त्यस क्षेत्रमा समेत अत्यधिक जाडो बढे पनि घाम लाग्ने गरेकाले जनजीवनमा खासै नकारात्मक प्रभाव भने परेको छैन ।

तराईमा शीतलहर तथा बाक्लो कुहिरो र पहाडी तथा हिमाली जिल्लामा हिउँ परेपछि हवाई उडानसमेत प्रभाविक भएको नागरिक उड्डयन कार्यालय बाँकेले जनाएको छ । भिजिबिलिटी नपुगेपछि नेपालगन्जबाट काठमाण्डुलगायत सबै स्थानमा हवाई उडान तथा अवतरण नियमित हुन सकेको छैन । मौसममा अचानक आएकोे परिवर्तनले आकासमा भिजिबिलिटी अत्यन्तै न्यून हुने गरेकाले मौसममा परिवर्तन नभएसम्म उडानमा अनियमिता रहिरहने सो कार्यालयका प्राविधिकहरू बताउँछन् ।

दाङ जिल्लामा पनि केही दिनयता अत्यधिक चिसो बढेको छ । चिसोका कारण यतिखेर जिल्लाका अस्पतालहरूमा चिसोका बिरामी बढेको ती अस्पतालहरूले जनाएका छन् । तुलसीपुरमा रहेको राप्ती अञ्चल अस्पतालमा पनि निमुनिया, रुघाखोकी, दम, पखाला, भाइरल ज्वरो  लगायतका रोग बिरामी उपचारका लागि आउनेको सङ्ख्यामा वृद्धि भएको सो अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख डा. केदार सेन्चुरीका अनुसार एक हप्तादेखि बढेको अत्याधिक चिसोका कारण अस्पतालमा दैनिक ४० देखि ५० जना ती रोगका बिरामी उपचारका लागि आउने गरेका छन् । विशेष गरेर बालबालिका र वृद्धवृद्धाहरू ती रोगबाट प्रभावित भएका छन् । उपचारका लागि पनि ती नै आउने गरेको उनले जानकारी दिए ।

सात दिनका लागि विद्यालय बन्द

केही दिनयतादेखि चलेको शीतलहर र बाक्लो हुस्सुसँगै बढेको जाडोका कारण पर्साका निजी तथा आवासीय विद्यालय प्याब्सन पर्सासँग आबद्ध सम्पूर्ण विद्यालय सात दिनका लागि बन्द भएका छन् । चिसो हावा र बाक्लो हुस्सुका कारण बढेको चिसोबाट बच्नका लागि विहीबारदेखि माघ १ गतेसम्म सात दिनका लागि प्याब्सन पर्सासँग आबद्ध सम्पूर्ण विद्यालय बन्द गर्ने निर्णय गरेको प्याब्सन पर्साद्वारा जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

केही दिनयतादेखि बढेको चिसोबाट बालबालिकालाई बचाउनका लागि जिल्ला शिक्षा र जिल्ला प्रशासन कार्यालयको अनुरोधमा निजी विद्यालयहरू सात दिनका लागि बन्द गरिएको प्याब्सन पर्साका अध्यक्ष इमामुद्दिन अहमदले जानकारी दिए । यसअघि जिल्ला शिक्षा कार्यालयले यही पुस २४ देखि १० दिनका लागि जिल्लाका सम्पूर्ण सामुदायिक विद्यालय बन्द गराएको पर्साका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद वस्तीले बताए ।

चिसो बढेपछि अस्पताल र निजी क्लिनिकहरूमा उपचारका लागि आउने निमोनिया, श्वासप्रश्वास तथा रुघाखोकीका बिरामीको सङ्ख्यासमेत बढ्न थालेको छ ।

दैैनिक ३०–३५ त्यस्ता बिरामी उपचारका लागि अस्पताल आउने गरेको नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जले जनाएको छ । जाडोले सबैभन्दा बढी विद्यालयका छात्रछात्रा, मजदुर र वृद्धवृद्धालाई असर पुर्याएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us