
बागलुङ, २५ पुस–बाग्लुङ जिल्ला शिक्षा समितिले जिल्लामा शिक्षक दरबन्दी मिलानको काम सम्पन्न गरेको छ । दुई वर्षअघिदेखि सुरु भएको दरबन्दी मिलानको कामले सार्थकता पाएको हो ।
विवादका बीच दरबन्दी मिलानको काम अघि बढे पनि समयमा नै टुङ्गो लाग्न सकेको थिएन । राजनीतिक दलसम्बद्ध पेसागत शिक्षक संस्थाको असहमति र दबाबका कारण समयमा नै दरबन्दी मिलानको काम नसकिएको जिल्ला शिक्षा कार्यालयले जनाएको छ ।
दरबन्दी मिलान कार्यान्वयन कार्यदल र सामाजिक संवाद समन्वय समितिको सिफारिसमा समितिले दरबन्दी मिलान गरी शिक्षकहरुलाई तोकिएको स्थानमा जान भनेको छ । मिलानपश्चात् तोकिएको स्थानमा नजाने शिक्षकलाई कारबाही गरिने जिल्ला शिक्षा अधिकारी नन्दलाल पौडेलले बताए ।
‘दुई वर्ष अघिदेखिको कामले बल्ल पूर्णता पाएको छ, हामीले लामो छलफल र प्रयासपछि सफलता प्राप्त गर्न सकेका छौं,’ जिशिअ पौडेलले भने, ‘जिल्लाको समग्र शैक्षिक वातावरणमा सुधार ल्याउने दरबन्दी मिलानले सहयोग पुग्ने हाम्रो विश्वास छ ।’
समितिले गरेको निर्णयअनुसार २ सय ५६ प्राथमिक, पा“च निमावि र ६ जना मावितर्फका शिक्षकको दरबन्दी मिलान गरिएको हो । तीबाहेक २७ जना शिक्षकको यसअघि नै दरबन्दी मिलान भइसकेको जिल्ला शिक्षा कार्यालयले जनाएको छ । दरबन्दी मिलानमा असहयोग गर्ने केही शिक्षकले बिरामी परेको बहानासमेत बनाएको कार्यालयको भनाइ छ ।