
काठमाण्डु, २५ पुस–चुनावमा अप्रत्यासित पराजय बेहोरेपछि तीन मधेसी दलले फेरि पार्टी एकीकरणका लागि पहल थालेका छन् । यसका लागि पार्टीका नेताहरूले विभिन्न चरणमा छलफल गरेका छन् ।
मधेसी जनअधिकार फोरम नेपाल, तराई मधेस लोकतान्त्रिक पार्टी र सद्भावना पार्टीले एकीकरण प्रयास थालेका हुन् । सानोठिमीस्थित तमलोपा अध्यक्ष महन्थ ठाकुरको निवासमा मंगलबार अपराह्न शीर्ष नेताबीच पार्टी एकीकरण गर्ने विषयमा उच्चस्तरीय वार्ता भएको छ । वार्तामा तीन पार्टीबीच एकीकरण गर्ने सहमति भएको थियो । केही दिनभित्रै अर्को वार्ता हुने नेताहरूले बताएका छन् ।
वार्तामा सहभागी नेताहरूले तीन पार्टीबीच एकीकरण गर्ने कुरामा नेताहरू सैद्धान्तिक रूपमा सहमति भएको जानकारी दिएका छन् । ‘तमलोपा, फोरम नेपाल र सद्भावनाबीच एकीकरणका लागि सैद्धान्तिक सहमति भएको छ । अबको वार्तामा अरू कुरा टुंगो लाग्नेछ,’ सद्भावनाका अध्यक्ष राजेन्द्र महतोले नयाँ पत्रिकासँग भने, ‘धेरै कुरामा सहमति भएको छ । अब केही कुरामा टुंगो लाग्न बाँकी छ ।’
तीन पार्टीबीच एकीकरण भए संविधानसभामा चौथो शक्ति हुनेछ । एकीकरण भएमा पार्टीको नाम, झन्डा, चुनावचिह्न, घोषणापत्र, विधान र पार्टीको नीति नयाँ हुने जनाइएको छ । पार्टीको नाम के राख्ने भन्नेमा टुंगो लागेको छैन । ‘तीनवटै दललाई चित्त बुझ्ने नाम राख्छौँ,’ सदभावना अध्यक्ष महतोले भने, ‘मधेसी दलका मुद्दालाई सडकदेखि सदनसम्म र सदनदेखि सडकसम्म कार्यान्वयन गर्नु तीन पार्टी एकीरणको मिसन हो ।’
मंगलबारको वार्तामा तमलोपाबाट अध्यक्ष महन्थ ठाकुर, वृषेशचन्द्र लाल, जितेन्द्र सोनाल, फोरम नेपालबाट अध्यक्ष उपेन्द्र यादव र महासचिव रामसहाय यादव तथा सद्भावनाबाट अध्यक्ष राजेन्द्र महतो, उपाध्यक्ष नरसिंह चौधरी, सञ्जय साह र लक्ष्मणलाल कर्ण सहभागी थिए । ‘तीनै पार्टीबीच एकीकरणको प्रक्रिया अघि बढेको छ । यसका लागि तीन पार्टीका शीर्ष नेताबीच पटकपटक कुराकानी भएको छ । अब केही समयमै यसको कार्यान्वयन हुनेछ,’ फोरम नेपालका नेता तथा सभासद् श्रवण अग्रवालले भने ।
स्रोतका अनुसार एकीकृत पार्टीको नेतृत्व तमलोपा अध्यक्ष ठाकुरले गर्नेमा सहमति भएको छ । नयाँ पार्टीमा फोरम नेपालका अध्यक्ष यादव संसदीय दलका नेता हुनेछन् भने सदभावना अध्यक्ष महतो सहअध्यक्ष हुने नयाँ पत्रिका दैनिकमा खबर छ ।