बाबुरामले भने, ‘जनताले चुनावमा थप्पड हाने’

काठमाण्डु टुडे २०७० पुष २४ गते १२:११ मा प्रकाशित

baburam_250गोरखा, २४ पुस – एकीकृत नेकपा माओवादीका वरिष्ठ नेता डा बाबुराम भट्टराईले पार्टीले जनताको अपेक्षा पुरा गर्न नसक्दा चुनावमा पराजित भएको बताएका छन् ।

गोरखामा भएको कार्यक्रममा भट्टराईले जनताले थप्पड हानेकाले अव सच्चिएर अघि बढ्नुको विकल्प नभएको बताए ।

‘जनताले हामीसँग धेरै अपेक्षा गरेका थिए, तर अपेक्षा पूरा नभएपछि जनता हामीसँग रिसाएका हुन्’ भट्टराईले भने, ‘यो थप्पडले हामीलाई मिलेर अघि बढ्न प्रेरित गरेको छ ।’

भट्टराईले चुनावमा भएको पराजयलाई आमाले आफ्ना सन्तानलाई हानेको थप्पडको संज्ञा दिए । ‘जसरी आमाको थप्पडमा पीडासँगै माया मिसिएर आउँछ त्यसरी नै जनताको थप्पडले पार्टीलाई रुपान्तरण गरेर अघि बढ्न प्रेरित गरेको छ,’ भट्टराईले भने ।

पार्टीलाई रुपान्तरण गर्ने प्रक्रियाको सुरुवात भइसकेको समेत उनले बताए । आफूले पार्टीको रुपान्तरणका लागि सुरु गरेको बहसलाई पद र प्रतिष्ठासँग जोडेर हेरिएको भन्दै उनले आपत्ति जनाए ।

आफूले थालेको बहस व्यक्तिगत स्वार्थका लागि नभएको र त्यसले पार्टी विभाजन नगर्ने भट्टराईको भनाइ थियो । पार्टीभित्रैबाट केही व्यक्तिले आफूले अघि सारेका बहसका विषयलाई विषयान्तर गरेर पार्टी फुटको हल्ला चलाएको टिप्पणी भट्टराईले गरे ।

‘हाम्रो पार्टी यहाँसम्म आउन जनताको धेरै रगत र पसिना बगेको छ,’ उनले भने, ‘बहसको विषयलाई विषयान्तर गरेर पार्टी फुटको हल्ला कसैले नचलाऔं ।’

फरक प्रसंगमा भट्टराईले आफ्नो पार्टी सरकार बनाउने र गिराउने फोहोरी खेलबाट टाढै रहने दोहोर्‍याए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us