जाजरकोटमा ल्याप्चेले सरकारी सेवा नपाइने

काठमाण्डु टुडे २०७० पुष २४ गते ६:५८ मा प्रकाशित

Lyapcheजाजरकोट, २४ पुस – जाजरकोटमा सरकारी सेवा पाउन ल्याप्चेले काम नचल्ने भएको छ । अहिले त्यस ठाउँमा हस्ताक्षर अनिवार्य गर्न जिल्लाका निरक्षर समुदायलाई हस्ताक्षर गर्न सिकाइँदैछ ।

निरक्षरता उन्मूलन अभियानको एक वर्ष मात्र बाँकी रहँदा जिल्लामा अझै २० हजार निरक्षर रहेको देखिएकाले तीन महिने ‘हस्ताक्षर’ अभियान सुरु गरिएको हो ।

सामाजिक सुरक्षा भत्ता लिन तथा विभिन्न उपभोक्ता समिति, समूह र सामुदायिक संस्थामा आबद्ध हुन हस्ताक्षर गर्न जानेको व्यक्ति हुनुपर्ने नियम आउँदैछ ।

यसका लागि सरोकारवाला निकायले आगामी तीन महिनासम्म हस्ताक्षर अभियान सञ्चालन गर्ने जिल्ला शिक्षा अधिकारी गिरमान थापाले बताए । ‘अभियानले हरेक नागरिकलाई सरकारी सेवा पाउन ल्याप्चे होइन, हस्ताक्षर गर्न सक्ने बनाउने छ,’ उनले भने ।

त्यस्तै आगामी वैशाख महिनाभित्र रामीडाँडा गाविसलाई पूर्ण साक्षर घोषणा गर्ने लक्ष्य रहेको शिक्षा कार्यालयले जनाएको छ । कार्यालयले बुधबार आयोजना गरेको कार्याशाला गोष्ठीमा सरोकारावालाले साक्षर अभियानलाई सफल पार्न प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

कमजोर अनुगमन तथा सम्बन्धित निकायको लापरबाहीले निरक्षरता घट्न नसकेको हो । जिल्ला सदरमुकाम रहेको खलङ्गा गाविसमा मात्रै २०० निरक्षर पाइएका छन् । जिल्ला शिक्षा कार्यालयले चालु आथिक वर्षमा २० हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य राखेको छ ।

सन् २०१५ सम्म नेपालबाट निरक्षरता उन्मूलन गर्ने सरकारी नीतिअनुरुप यस जिल्लामा पनि साक्षर नेपाल अभियान लागू भएको हो ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us