
काठमाण्डु, २४ पुस– संविधानसभाको पहिलो बैठक राष्ट्रपतिले बोलाउनुपर्ने माग गर्दै दायर रिटमाथि सर्बोच्च अदालतमा बुधबार बहस हुदै छ । राष्ट्रपतिले संविधानसभाको बैठक बोलाउनुपर्ने भन्दै दायर रिटमाथि अन्तरिम आदेश दिने की नदिने भन्नेबारे बुधबार छलफल हुने सर्बोच्चका प्रवक्ता श्रीकान्त पौडेलले जानकारी दिए ।
छलफलको लागि मन्त्रिपरिषद अध्यक्ष खिलराज रेग्मीलाई पनि बोलाइएको छ ।
डेमोक्रेटिक लयर्स एसोसियनको तर्फबाट विश्वास आचार्यले अन्तराष्ट्रिय प्रचलन अनुसार राष्ट्रपतिले नै संविधानसभाको बैठक बोलाउनुपर्ने भन्दै रिट दायर गरेका थिए ।
निर्वाचन आयोगले पुस १८ गते संविधानसभा निर्वाचनको मत परिणाम राष्ट्रपतिलाई बुझाइसकेको छ । यो परिणाम बुझाएको २१ दिनभित्र संविधानसभाको पहिलो बैठक बोलाउनु पर्ने संवैधानिक प्रावधान छ । तर, रिट निवेदनको अन्तिम फैसला नभएकोले बैठक अन्यौलमा परेको छ ।
सर्बोच्चमा संवैधानिक प्रावधान अनुसार सरकार प्रमुखले बैठक बोलाउनु पर्ने भन्दै अर्को छुट्टै रिट पनि दायर भएको छ । विशेष इजलाशमा पठाइएको सो रिटमा आउँदो २९ गते छलफल हुदै छ ।