
स्याङ्जा, २४ पुस–शिक्षितहरुको जिल्ला भनेर चिनिने स्याङ्जामा निरक्षरहरुको सङ्ख्या अझै २० हजारभन्दा बढी रहेको छ । जिल्ला शिक्षा अधिकारी सङ्गीता रेग्मीका अनुसार जिल्लामा हालसम्म कुल निरक्षरको सङ्ख्या २० हजार १७१ रहेको छ ।
जिल्लालाई पूर्ण साक्षर बनाउनका लागि शिक्षा मन्त्रालय, अनौपचारिक शिक्षा केन्द्र, जिल्ला शिक्षा कार्यालय र स्थानीयस्तरमा सञ्चालित सामुदायिक अध्ययन केन्द्रहरुको पहलमा साक्षरतासम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिएको जिल्ला शिक्षा अधिकारी रेग्मीले जानकारी दिइन् ।
राष्ट्रिय जनगणता २०६८ अनुसार स्याङ्जा जिल्लामा कुल निरक्षर सर्वसाधारणको सङ्ख्या २८ हजार ८१६ रहेको थियो । गत वर्ष जिल्लाका कुल आठ हजार ६४५ जना सर्वसाधारणलाई अनौपचारिक शैक्षिक प्रणालीअन्तर्गत साक्षर बनाइएको थियो ।
बाँकी रहेका सर्वसाधारणलाई साक्षर बनाउन यही पुस १८ गतेबाट विभिन्न चरणमा सहजकर्ताहरुलाई तामिल सञ्चालन गरिरहेको जिल्ला शिक्षा अधिकारी रेग्मीले जानकारी दिइन् । जिल्लालाई निरक्षर मुक्त घोषणा गर्नका लागि शिक्षा कार्यालयले पुस १८ देखि २२ गतेसम्म पहिलो चरणको सहजकर्ता तालिम र पुस २४ देखि २८ गतेसम्म दोस्रो चरणको तालिम चलाउन लागेको छ । सहजकर्तालाई तालिम दिएलगत्तै माघ ३ गतेदेखि साक्षरता अभियान सुरु गरिने जिल्ला शिक्षा कार्यालयले जनाएको छ । साक्षरता अभियान सञ्चालनको मुख्य जिम्मा स्थानीयस्तरमा सञ्चालित कुल २१ ओटा सामुदायिक अध्ययन केन्द्रलाई दिइएको छ ।
साक्षरता अभियान सफल पार्नका लागि जिल्ला शिक्षा कार्यालयका उपसचिवहरु, विद्यालय निरीक्षकहरु र विभिन्न विद्यालयका स्रोतव्यक्तिहरुलाई निरीक्षण तथा अनुगमनका लागि खटाउने शिक्षा कार्यालयअन्तर्गतको अनौपचारिक शाखाका प्रमुख बाबुराम सापकोटाले बताए । रासस