
काठमाण्डु, २४ पुस–एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी सरकारमा सहभागी हुनेतिर भन्दा प्रतिपक्षमा बसेर संविधान निर्माणका लागि सकारात्मक भूमिका खेल्ने चाहना व्यक्त गरेका छन् । आफूले काँग्रेस र एमाले मिलेर सरकार बनाउन् भनेर चाहेको प्रचण्डले बताए ।
‘उच्चस्तरिय राजनीतिक समितिका बैठक र काँग्रेस एमालेका नेताहरुसँगको छलफलमा मैले तपाईहरु मिलेर सरकार बनाउनुस् भनेको छु, हामी प्रतिपक्षमा बस्छौं भनेका छौ’ प्रचण्डले केहि पत्रकारहरुसँग आफ्नै निवास लाजिम्पाटमा मंगलबार भने ‘एक बर्ष भित्र संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान निर्माण गर्न हामी प्रतिपक्षमा बसेर सकारात्मक भूमिका निर्वाह गर्छौ । यस अर्थ हामी सरकारमा जाँदै जाँदैनौं भन्ने होइन, सरकारमा जाने बारेमा हामी खुला छौं ।’
काँग्रेस सभापति सुशिल कोइरालाले भने आफूहरुलाई सरकारमा सहभागी हुन आग्रह गरेको उनले जानकारी दिए । सभापति कोइराला र अध्यक्ष प्रचण्डबीच सोमबार गम्भीर वार्ता भएको थियो । ‘सुशीलजीले तपाईहरु पनि सरकारमा सहभागी हुनुस्,सहमतीय सरकार बनाउँ भन्नु भएको छ । उहाँसँग पनि मैले सरकार तपाईहरु मिलेर बनाउनुस्,हामी प्रतिपक्षमा बस्छौं भनेको छु ।’
संविधानसभाको पहिलो बैठक राष्टाध्यक्षले बोलाउने व्यवस्था भए पनि त्यसका लागि संविधानमा बाधा अड्काउ फुकाउनु पर्ने अवस्था रहेको उनले बताए । दोस्रो संविधानसभापछि राष्ट्रपति नयाँ निर्वाचित गर्ने बारेमा काँग्रेस र एमालेलाई समझदारी गरेर अघि बढ्न आफूले सुझाव दिएको पनि उनले बताए ।