
काठमाण्डु, २२ पुस – एकीकृत नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गर्ने दस्तावेज चित्त नबुझे छुट्टै दस्तावेज ल्याउने बताएका छन् ।
अध्यक्ष प्रचण्डसँग दस्तावेज तयारीका विषयमा सोमबार छलफल गरेपछि काठमाण्डु टुडेसँग कुराकानी गर्दै श्रेष्ठले सो कुरा बताएका हुन् ।
चुनावी समिक्षा र आगामी कार्यदिशाको विषयमा अध्यक्षको दस्तावेज अध्ययन गरेपछि चित्त नबुझे नयाँ दस्तावेज ल्याउने श्रेष्ठको भनाई छ ।
‘राष्ट्रियता र रुपान्तरणसहित पार्टीलाई एकतावद्ध गरेर लैजानुपर्ने कुरामा जोड दिँदै आएको छु, श्रेष्ठले भने, ‘एकतावद्ध भएर अघि बढ्नुको विकल्प छैन ।’
हेटौंडा महाधिवेशनबाट तय गरिएको कार्यदिशा सहि भएको भन्दै उनले त्यसैलाई पक्रिएर अघि बढ्नु पर्ने बताए ।
लाजिम्पाटमा भएको भेटमा प्रचण्डले नेता श्रेष्ठसँग दस्तावेजमा समेट्ने विषयबस्तुको बारेमा सुझाव मागेका थिए । ‘अध्यक्षसँग केन्द्रीय समितिमा पेश गर्ने दस्तावेजको तयारीको विषयमा छलफल भयो, नेता श्रेष्ठले भने, ‘रुपान्तरणसहित पार्टीलाई एकताबद्ध बनाएर अघि बढाउने विषयमा जोड दिएको छु ।’
समानुपातिक सभासद चयनका विषयमा देखिएको विवादका कारण सम्बन्ध चिसिएका बेला भएको भेटमा समासामयिक राजनीतिक अवस्थाका विषयमासमेत कुराकानी भएको बुझिएको छ ।
अध्यक्ष प्रचण्ड राजनीतिक भेटवार्तालाई बन्द गरेर दस्तावेज लेख्न ब्यस्त छन् । प्रचण्डले चुनावी समिक्षा, विगतमा लिएको कार्यनीतिको समिक्षा र सांगठनिक प्रतिवेदन गरी तीन खण्डमा दस्तावेज लेखिरहेका छन् । एमाओवादीको केन्द्रीय समिति बैठक यहि पुस २६ गतेबाट सुरु हुँदैछ ।