
काठमाण्डु, २२ पुस – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पत्रकारले गोप्य विषयलाई समाचार बनाइदिँदा भ्रष्टाचार छानबिनमा कठिनाइ भएको बताएको छ ।
सरकारी निकायमा छापा मार्नका लागि गरिएको पूर्वतयारीलाई पत्रकारले समाचार प्रकाशन तथा प्रसारण गरेका कारण छानबिनमा कठिनाइ भएको आयोगका सहप्रवक्ता केशवप्रसाद घिमिरेले बताए ।
सूचना तथा सञ्चार मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा घिमिरेले समाचार प्रकाशन तथा प्रसारण भएलगत्तै केही सरकारी निकायबाट गोप्य कागजाज लुकाउने गरेको जानकारी दिए ।
पत्रकार सम्मेलनमा शिक्षा मन्त्रालयले विद्यालय क्षेत्र सुधार कार्यक्रमलाई तीव्रता दिइएको तथा महिला बालबालिका तथा समाजकल्याण मन्त्रालयले बालविवाह, यौन दुव्र्यवहार तथा शोषण, बालबालिका ओसारपसार, शारीरिक सजाय र बालश्रम न्यूनीकरण गर्ने विषयमा विभिन्न कार्यक्रम सञ्चालनमा तीव्रता दिइएको जानकारी दिएका थिए ।
त्यसैगरी सामान्य प्रशासन मन्त्रालयले कर्मचारीको सरुवा, बढुवा नियुक्ति र कारबाहीका लागि सिफारिस गरिएको तथा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले गैह्रसरकारी संस्था सञ्चालनसम्बन्धी विधेयक पेस भएको जानकारी दिएका थिए ।