
काठमाण्डु, २२ पुस – निर्वाचन आयोगले संविधानसभाको दोस्रो निर्वाचनबाट समानुपातिकतर्फ निर्वाचित सभासदहरुलाई प्रमाणपत्र बितरण गरेको छ ।
आयागको कार्यालय कान्तिपथमा सोमबार एक कार्यक्रमको आयोजना गरेर निर्वाचनमा विजयी ३० दलका समानुपतिक तर्फका ३ सय ३५ जना सभासदलाई प्रमाणपत्र वितरण गरेको गरिएको हो ।
निर्वाचनमा विजयी सबै दलका प्रतिनिधिले प्रमाण पत्र बुझेका छन् ।
प्रमाणपत्र बितरण कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतिले शान्तिपूर्ण रुपमा सम्पन्न भएको निर्वाचनले जनताले आफ्ना प्रतिनिधिबाट लेखिएको संविधान प्राप्त गर्ने ढोका खुलेको बताए । संविधान बनेपछि देशमा राजनीतिक स्थिरता कायम हुने उनको विश्वास थियो ।
नो भोट प्रयोगमा ल्याउन कानुन परिमार्जन गरिँदै
निर्वाचन आयोग निर्वाचन कानुन छिट्टै परिमार्जन गर्ने भएको छ । सर्वोच्च अदालतले मतपत्रमा उम्मेदवारलाई अस्विकार समेत गर्न पाउने विकल्प राख्न आदेश दिएपछि निर्वाचन आयोगले कानुन परिमार्जनको तयारी गरेको हो ।
आयोगको कार्यालय कान्तिपथमा पत्रकारहरुसँग कुरा गर्दै प्रमुख निर्वाचन आयुक्त निलकण्ठ उप्रेतीले सर्वोच्चले गरेको निर्णयलाई आयोगको कानुनमा समावेश गर्दै प्रयोगमा ल्याउने बताए ।
‘म मतदान गर्न चाहन्न’ भनेर मतदाताले भन्न पाउनु परिपक्व लोकतन्त्रको बाटोमा हिड्ने एउटा महत्वपूर्ण कडी भएको उनको भनाई छ । उप्रेतिले लोकतान्त्रिक देशमा यस्तो व्यवस्था हुनु आवश्यक रहेको बताएका छन् ।