
भक्तपुर, २२ पुस – राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका अध्यक्ष कमल थापाले संविधानसभा कसले बोलाउने भन्नेबारेमा ठूला दलले निरर्थक विवाद खडा गरेर संविधानसभा बैठक बोलाउन ढिला गरेको आरोप लगाएका छन् ।
भक्तपुरमा रफत सञ्चार क्लबले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संविधानसभा बैठक जसले बोलाए पनि परिणाम एउटै आउने भएकाले विवाद गर्न नहुने बताएका हुन् । संविधानसभा निर्वाचन भएपछि राष्ट्रपतिको निर्वाचन पनि फेरि हुनुपर्ने उनको जिकिर छ ।
नेपाली काँग्रेस, नेकपा एमाले र एमाओवादीलाई सर्वसत्तावादी शक्तिको संज्ञा दिँदै थापाले तीन दलले राज्य सत्तामा कब्जा जमाएर, राजनीतिक ‘सिन्डिकेट’ खडा गरेको आरोप लगाए ।
निर्वाचनपछि उच्चस्तरीय राजनीतिक संयन्त्रको आवश्यकता नभएको भन्दै उनले ठूला तीन दलले फेरि पनि गैरसंवैधानिक शक्ति केन्द्र खडा गर्न खोजेको बताए । राप्रपा नेपालले संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र र सनातन हिन्दू राज्यको एजेन्डा नछाड्ने उनको भनाई छ ।
यी विषयमा सहमति र सम्झौता गर्न राप्रपा नेपाल लचक हुने बताउँदै थापाले कुन रुपमा, कुन आकारमा सहमति गर्ने हो यसबारे छलफल गर्न सकिने जानकारी दिए । ठूला दलले फेरि पनि ‘सिन्डिकेट’ लादेर कुनै एउटा पार्टीको मात्र एजेन्डा लागू गराउन खोजे नयाँ द्वन्द्व सिर्जना हुने उनको चेतावनी छ ।