राष्ट्रपतिको सक्रियता अशोभनीय : एमाले

काठमाण्डु टुडे २०७० पुष २२ गते १०:१० मा प्रकाशित

Pradip-Narayanकाठमाण्डु, २२ पुस– नेकपा एमाले नेता प्रदीप ज्ञवालीले राष्ट्रपति रामवरण यादवले पछिल्लो समय देखाएको सक्रियता अशोभनीय भएको बताएका छन् ।

राजधानीमा सोमबार भएको एक कार्यक्रममा नेता ज्ञवालीले संवैधानिक राष्ट्रपतिले आफ्नो भूमिका खोज्दै ‘ओभर सकृयता’ देखाउन अशोभनीय भएको बताएका हुन् ।

अन्तर्राष्ट्रिय मान्यताअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले नै बोलाउनु पर्ने भए पनि सर्वोच्च अदालतमा विचाराधीन मुद्धामाथि आफ्नो भूमिका खोज्नु ठीक नभएको उनको भनाइ छ ।

संविधानसभाको नयाँ जनादेशसँगै प्रधानमन्त्री, उपप्रधानमन्त्री, सभामुख सबै नयाँ हुने भएकाले राष्ट्रपति उपराष्ट्रपतिको पनि चुनाव हुनुपर्ने ज्ञवालीले बताए । उनले सरकारको नेतृत्व गर्ने अवस्थामा पुगेको कांग्रेसकै नेताहरुले विभिन्न कार्ड फ्याँकेर एमालेसँगको दूरी बढाउन खोजेको आरोप पनि लगाए ।

एमाले प्रमुख प्रतिद्वन्द्वी भएकाले एमालेलाई सरकारमा लैजान हुन्न भनेर काँग्रेस नेताले दूरी बढाउन खोजेको ज्ञवालीको भनाइ छ । कार्यक्रममा एकीकृत नेकपा माओवादीका नेता टोपबहादुर रायमाझीले संविधानसभाको बैठक बोलाउनकै लागि राष्ट्रपतिले चलखेल गरिरहेको टिप्पणी गरे ।

आलंकारिक राष्ट्रपतिले कार्यकारी प्रमुखले भन्दा बढी चासो लिन खोजेको र नयाँ जनादेशपछि बढी सक्रिय हुनु र आफ्नो भूमिका खोज्नु गलत भएको रायमाझीको भनाइ छ ।

तर नेपाली कांग्रेसका नेता नारायण खड्काले भने संविधानसभाको बैठक बोलाउन नपाए वर्तमान राष्ट्रपतिको औचित्यमा प्रश्न उठ्ने बताए ।

उनले भने, ‘राष्ट्रपतिले बैठक बोलाउन नपाए राष्ट्रपतिको पद निलम्बन गरे पनि हुन्छ, त्यसको कुनै अर्थ छैन ।’ तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कार्यवाहक राष्ट्राध्यक्षको हैसियतमा विघटित संविधानसभाको पहिलो बैठक आह्वान गरेको भन्दै राष्ट्रपतिले नै बैठक बोलाउन उचित हुने जिकिर खड्काको थियो ।

अर्को एक फरक प्रसंगमा उनले राष्ट्रपति परिवर्तनको माग औचित्यहीन रहेको बताए । राष्ट्रपतिको चुनाव गर्दा व्यर्थै समय बित्ने र एक वर्षमा संविधान जारी गर्ने काममा अवरोध हुने भन्दै उनले चुनावको झमेलामा लाग्न नहुने तर्क गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us