एमाओवादीका डेढ सय बढी नेता घटुवामा

काठमाण्डु टुडे २०७० पुष २२ गते १३:४५ मा प्रकाशित

Perisdadaकाठमाण्डु, २२ पुस– एकीकृत नेकपा माओवादीका करिब एक सय ५० भन्दा बढी केन्द्रीय सदस्य घटुवामा पर्ने भएका छन् ।

स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केन्द्रीय समिति बैठकमा पेश गर्न तयार पार्दै गरेको दस्तावेजको संगठनात्मक प्रस्तावमा केन्द्रीय समिति सानो बनाउने उल्लेख छ ।

निर्वाचनको समीक्षा तथा पार्टीको भावी रणनीति तय गर्न माओवादी केन्द्रीय समिति बैठक २६ पुसमा राजधानीमा बस्दैछ ।

संविधानसभा निर्वाचनलगत्तै बसेको केन्द्रीय समिति र पूर्वपोलिट्ब्युरो सदस्यहरुको बैठकमा बोल्ने अधिकांश नेताले निर्वाचनमा अनपेक्षित हार बेहोर्नुमा पार्टी कमिटीको भद्धा संरचना पनि प्रमुख कारण रहेकाले कमिटी प्रणालीमा सुधार गर्नुपर्ने सुझाव दिएका थिए ।

उनीहरुमध्ये अधिकांशले जिम्मेवारीबिनाको पदको औचित्य नरहेको भन्दै जुनसुकै पदमा रहेर भूमिका निर्वाह गर्न तयार रहेको बताएका थिए । प्रचण्डले प्रस्तावमा राज्य र जिल्ला समिति पनि सानो आकारको बनाउने उल्लेख गरेका छन् ।

कमिटी ठूलो भएका कारण लामो समयदेखि माओवादीको केन्द्रदेखि जिल्ला समितिका बैठकसमेत बस्न सकेका छैनन् । निर्वाचनका बेला थप गरिएका १५ सहित पूर्ण र वैकल्पिक गरी हाल एकीकृत माओवादीको केन्द्रीय समिति २ सय ६६ सदस्यीय छ ।

जिल्ला समिति २ सय देखि ५ सय सदस्यीय सम्मका छन् । पूर्वमहासचिवसमेत रहेका नेता पोष्टबहादुर बोगटीले केन्द्रीय समिति घटाउने तयारी भइरहेको काठमाण्डु टुडेलाई बताए । उनका अनुसार हेटौंडा महाधिवेशनबाट निर्वाचित ९९ वा पूर्वपोलिट्ब्युरोमा रहेका ५१ जनाको केन्द्रीय समिति बनाउने भन्ने दुई विकल्पमा छलफल भइरहेको छ ।

‘केन्द्रदेखि तलसम्म कमिटीहरु अनावश्यक ठूला भएका कारण पार्टीमा जनवादी केन्द्रीयताको अभ्यास हुनै पाएन’, बोगटीले भने, ‘केन्द्रीय समिति बैठकबाट सबै तहका पार्टी संगठन चुस्त बनाउने निर्णय गर्छौं ।’

९९ जनाको केन्द्रीय समिति कायम रहँदा १६७ र ५१ जनाको केन्द्रीय समिति हुँदा २ सय १५ जना घटुवामा पर्नेछन् । माओवादीले यसअघि २०६२ कात्तिकमा बसेको चुनवाङ बैठकबाट ९९ जनाको केन्द्रीय समितिलाई ३३ मा सीमित गरेको थियो ।

त्यतिबेला केन्द्रीय समितिको पोलिट्ब्युरोमा रहेका ३३ बाहेक सबै क्षेत्रीय व्युरो सदस्यमा झरेका थिए ।

बाबुरामले छुट्टै दस्तावेज नलाने

यसैबीच समानुपातिक सभासद चयनमा एकलौटी निर्णय गरेको भन्दै असन्तुष्ट बनेका नेता बाबुराम भट्टराईले केन्द्रीय समितिमा तत्काल छुट्टै दस्तावेज नलैजाने भएका छन् ।

‘पार्टीमा जसको विचार उसको नेतृत्व’ भन्ने मान्यता स्थापित गर्नुपर्ने आशयको छुट्टै दस्तावेज लैजाने तयारीमा भट्टराई थिए । तर भट्टराईको योजना पहिल्यै केही सञ्चारमाध्यममार्फत बाहिर आएपछि अध्यक्ष प्रचण्डले केही दिनअघि आफ्नै निवास लाजिम्पाट बोलाएर त्यसबारे जानकारी लिएका थिए ।

जवाफमा भट्टराईले प्रचण्डको दस्तावेज हेरेर कदम चाल्ने बताएको भट्टराईका एक सहयोगीले जानकारी दिए । उनका अनुसार भट्टराईले अध्यक्ष प्रचण्डलाई आफूहरुका भावना नसमेटिए अर्को दस्तावेज ल्याउने पनि बताएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us