रकम हिनामिना बारे अनुसन्धान जारी

काठमाण्डु टुडे २०७० पुष २२ गते ९:२२ मा प्रकाशित

पाँचथर, २२ पुस – द्वन्द्वपीडितको नाममा किर्ते कागजात बनाई जिल्ला प्रशासन कार्यालय पाँचथरको सिफारिसमा एक करोड भन्दा बढी रकम हिनामिना गरिएको घटनामा प्रहरीले जिल्ला प्रशासन कार्यालय र नेपाल बैंक लिमिटेडलाई रकम सिफारिस र वितरणको सक्कल कागजात पेस गर्न पत्राचार गरेको छ ।

प्रहरीले फक्ताङ्लुङ चिया कम्पनीका प्रबन्ध निर्देशक शन्तवीर आङ्देम्बेलाई कम्पनीका अध्यक्षसहित १३ जनाको उजुरीका आधारमा पक्राउ गरी अनुसन्धान प्रक्रिया अघि बढाएको थियो । उक्त घोटाला काण्डको थप प्रमाण जुटाउन जिल्ला प्रशासन र नेपाल बैंकलाई पत्र लेखिएको हो ।

जिप्रकाले भने राहत क्षतिपूर्ति रकम सिफारिसको सक्कल कागजातहरु लेखा परीक्षणका लागि मन्त्रालय पठाइएकाले हाललाई कार्यालयमा भएको नक्कल कागजात मात्र उपलब्ध गराउने र लेखा परीक्षण सकेपछि मन्त्रालयबाट मगाएर उपलब्ध गराउने तयारी भइरहेको सहायक प्रजिअ यज्ञराज आचार्यले जानकारी दिए ।

उता प्रहरीले नेपाल बैंकको शाखा कार्यालय फिदिमलाई पनि प्रशासनको सिफारिसमा द्वन्द्वपीडितको नाममा खोलिएको बैंक हिसाब खाता र त्यहाँबाट वितरण भएको सम्पूर्ण हिसाब अभिलेख प्रहरीमा पेस गर्न भनेको छ ।

नेपाल बैंकले केन्द्रीय कार्यालयको निर्देशनबिना कुनै पनि बैंक हिसाब र रकम वितरणको अभिलेख दिन नमिल्ने भन्दै केन्द्रीय कार्यालयले निर्देशन दिएपछि मात्रै उपलब्ध गराउन सकिने जनाएको छ ।

जिप्रका र नेपाल बैंकसँग मागिएका सिफारिस र बैंक अभिलेखको सक्कल कागजातहरु उपलब्ध भएपछि प्रहरीको केन्द्रीय कार्यालयस्थित विधि विज्ञान प्रयोगशालामा परीक्षणका लागि पठाइने प्रहरी निरीक्षक राकेश थापाले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us