
सप्तरी, २२ पुस – विद्युत् चुहावट नियन्त्रण अभियान सुरु गरेको विद्युत् प्राधिकरण कार्यालय राजविराजले विगत एक साताको अवधिमा सप्तरीको विभिन्न गाविसबाट ४५ जनालाई पक्राउ गरी जरिवाना तिराएको छ ।
हुकिङ गरी विद्युत् चोरी गरेको आरोपमा विद्युत् प्राधिकरण राजविराज शाखाले सप्तरीको नकटी रायपुर, कटैया, झुटकी, रामपुर जमुवा, मलहनवा, बेल्ही, पोर्ताहालगायतका गाविसबाट पक्राउ परेका ४५ जनाबाट एक लाख ३५ हजार नगद जरिवाना तिराएको जनाएको छ ।
अभियानका क्रममा उनीहरुबाट मोटर आठ थान, मिटर दुई थान, ट्युबेल दुई थान, एलसिडी एक थान, कोदालो एक थान र साइकल एक थान बरामद गरिएको छ ।
अभियानका क्रममा पक्राउ परेका सबैबाट पाँच हजार जरिवाना तिराएर छाड्ने गरिएको विद्युत् शाखा प्रमुख शम्भु कुसियैतले जानकारी दिए ।