
काठमाण्डु, २२ पुस – प्रजातन्त्रवादी प्राध्यापक संघका दिवङ्गत संस्थापक अध्यक्ष डा. सौभाग्यजंग कार्कीको सोमबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । डा. कार्कीको पार्थिव शरीरमा नेपाली काँग्रेसका सभापति सुशील कोइरालाले पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जलि व्यक्त गरे ।
त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पूर्व अध्यक्षसमेत रहेका डा. कार्कीको क्यान्सर रोगका कारण यही पुस २० गते भारतमा निधन भएको थियो ।
दाहसंस्कारअघि नेपाल प्राध्यापक संघको आयोजनामा त्रिचन्द्र क्याम्पसमा श्रद्धाञ्जलि कार्यक्रम आयोजना गरिएको थियो ।
कार्यक्रममा काँग्रेस सभापति कोइराला, उपसभापति रामचन्द्र पौडेल, महामन्त्री प्रकाशमान सिंह, विश्वविद्यालयका उपकुलपति डा. हीराबहादुर महर्जन, शिक्षाध्यक्ष गुणनिधि न्यौपाने, विभिन्न प्राध्यापक संघसंस्थाका पदाधिकारी र प्राध्यापकहरुको उपस्थिति थियो ।
प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले स्वर्गीय कार्कीले शिक्षा र प्रजातान्त्रिक आन्दोलनका क्षेत्रमा पु¥याउनुभएको योगदान अतुलनीय भएको बताए । विसं २००७ मा जन्मिएका डा. कार्कीका श्रीमती, एक छोरा र एक छोरी छन् ।