दाङको गोल्टाकुरी गाविस शोकमा

काठमाण्डु टुडे २०७० पुष २२ गते ८:१९ मा प्रकाशित

दाङ, २२ पुस – पैसा कमाउन भारत गएका एकै ठाउँका पाँच युवकको भवनले च्यापिएर निधन भएको खबर आएपछि दाङको गोल्टाकुरी गाविस यतिखेर शोकमा डुबेको छ ।

गत शनिबार दिउँसो भारत गोवाको केनाकोनामा निर्माणाधीन एउटा अपार्टमेन्ट भत्किँदा पाँच युवकको एकैसाथ निधन भएपछि गोल्टाकुरी गाविस तथा उनीहरुका आफन्तजन शोकमा डुबेका हुन् ।

भवन भत्किएर दाङ गोल्टाकुरी–८ का २२ वर्षीय सीताराम कामी, २२ वर्षीय दिपेश विक, गोल्टाकुरी–७ का ३६ वर्षीय ओपेन्द्र वली, ३५ वर्षीय ताराबहादुर खड्का र फूलबारी  गाविस–३ मजघटुवाका ४२ वर्षीय डम्बर नेपालीको मृत्यु भएको हो ।

उक्त अपार्टमेन्टमा काम गर्ने सात नेपालीमध्ये दुई जना भने बाँच्न सफल भएका छन् । ती दुई पनि त्यहीकै स्थानीय बासिन्दा हुन् । नेपाली युवाको मृत्यु भएको खबर बाँच्न सफल भएका ती दुई युवाले दिएका हुन् ।

‘आफ्नो छोराको मृत्यु भएको खबर न कम्पनीले गरायो न नेपाल सरकारले जानकारी गरायो, त्यसैले आफूहरुमा शोकसँगै आक्रोश पनि थपिएको छ,’ मृतक सीताराम कामीका बुबा कृष्ण कामीले त्यहाँ पुगेका पत्रकारसँग भने । उनका अनुसार मृतक सबै युवाले उक्त कम्पनीमा सुरक्षा गार्डको काम गरिरहेका थिए ।

यसैबीच, दाङका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थले मृतकहरुको शव ल्याउने बारेमा मन्त्रालयसँग समन्वय भइरहेको बताएका छन् ।

उनका अनुसार शव यहाँ ल्याउने वा आफन्तलाई त्यही पठाउने हो भन्ने विषयमा मन्त्रालयको जवाफपछि निधो हुनेछ । उनले यस विषयमा छिट्टै नेपाल र भारतको उच्च नेतृत्वबीच कुराकानी हुने पनि जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us