साइबेरियन चरा मार्न विषादीको प्रयोग

काठमाण्डु टुडे २०७० पुष २२ गते ८:१५ मा प्रकाशित

जनकपुरधाम, २२ पुस – जाडो छल्न तथा आहारा खोज्न कोसी टप्पु वन्यजन्तु आरक्षमा आउने साइबेरियन चरा मार्न स्थानीय मध्यवर्ती क्षेत्रका बासिन्दाले विषादीको प्रयोग गर्न थालेका छन् ।

मंगोलिया, रुस, चीन र साइबेरियाबाट जाडो छल्न तथा आहारा खोज्न नोभेम्बरमा आउने साइबेरियन चरा मार्चसम्म त्यस क्षेत्रमा बस्ने गर्छन् । यस्ता चरा ठूल्ठूला बथानसहित आउने गरेका छन् ।

‘आरक्ष वरिपरि रहेका मध्यवर्ती क्षेत्रका बासिन्दाले खेतमा रहेका अन्नबाली संरक्षणका लागि विष हाल्ने गरेको र आहाराको खोजीमा आउने साइबेरियन चरा ती अन्नबाली खाई मर्ने गर्दछन्,’ सहायक संरक्षण अधिकृत झौलाई चौधरीले भने, ‘राजनीतिक हस्तक्षेप बढी भएकाले यस्तो दुर्लभ चरा जोगाउन कठिनाइ भएको छ ।’

हङकङ, चीन, बेलायत, पाकिस्तान, नेदरल्यान्डस्लगायतका देशबाट त्यहाँ दैनिक थुप्रै चरा विशेषज्ञ अध्ययन, अनुसन्धान गर्न र चरा हेर्न आउने गर्दछन् । यसले आरक्ष कार्यालयलाई आर्थिक लाभसमेत हुँदै आएको तर विष हालेर साइबेरियन चरा मार्ने कामलाई रोक्न समस्या भएको आरक्ष प्रशासनको भनाइ रहेको छ ।

जाडो महिना छल्न चार महिना कोसी टप्पुमा बस्ने साइबेरियन चरालाई मध्यवर्ती क्षेत्रका बासिन्दाले संरक्षण गर्नुुपर्ने माग घुम्न आउने पर्यटकको छ । क्षणिक लाभका लागि स्थानीयवासीले साइबेरियन चरामाथि आक्रमण गर्ने र विष हालेर मार्ने गरेको पाइएको छ ।

पर्यटन विकासको मुख्य आधार साइबेरियन चरासमेत भएकाले यसको अवैध चोरी सिकारी रोक्न सके यसले आन्तरिक तथा बाह्य पर्यटन विकासमा थप टेवा पुग्न जाने विश्वास पर्यटकको छ ।

सिमसार क्षेत्रमा बसाइँसराइ गर्न रुचाउने साइबेरियन चराको संरक्षण प्रमुख चुनौती रुपमा रहिआएको छ ।

यस्ता चराको आगमन न्यून भए चरा प्रेमी पर्यटकहरुको आगमन कम भई होटल व्यवसाय पनि प्रभावित हुने निश्चित छ । कोसी टप्पु वन्यजन्तु आरक्षले सुनसरीका १६, सप्तरीका ६९ र उदयपुरका १ गाउँ विकास समितिलाई प्रत्यक्ष रुपमा सेवा दिने गरेको छ ।

साइबेरियन चरा भालेपोथीसँगै बस्ने प्रवृत्तिका भएकाले दुईमध्ये एउटा मरे भने अर्को विलापले आफैं मर्ने गरेको स्थानीयवासी बताउँछन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us