म्याग्दीमा लौठ सल्लाको अनुसन्धान

काठमाण्डु टुडे २०७० पुष २२ गते ६:५५ मा प्रकाशित

म्याग्दी, २२ पुस – जिल्ला वन कार्यालय म्याग्दीले जिल्लाका विभिन्न जङ्गलमा पाइने उपयोगी जडीबुटी लौठ सल्लाको बारेमा पहिलोपटक अनुसन्धान सुरु भएको छ । लौठ सल्लाको अध्ययन गरी वन कार्ययोजनामा समेट्न लागिएको जिल्ला वन कार्यालयका रेञ्जर प्रकाश बस्नेतले बताए ।

सो अध्ययनको आधारमा यस वनस्पतिको संरक्षण र निकासीका लागि कार्ययोजना तयार गरिने । समुन्द्री सतहबाट दुई हजारदेखि तीन हजार मिटरको उचाइका जङ्गलमा पाइने लौठ सल्लाको पात क्यान्सर रोगको औषधि बनाउन प्रयोग हुने गरेको छ ।

जडीबुटी व्यवसायीबाट लौठ सल्ला निकासीका लागि माग बढ्दै गएकाले अध्ययनमार्फत वास्तविक तथ्याङ्क सङ्कलन गर्न लागिएको रेञ्जर बस्नेतले बताए ।

अध्ययनका लागि जिल्लामा वन प्राविधिकको तीन टोली परिचालन गरिएको छ । पाखापानी, चिमखोला, मल्कवाङ क्षेत्रको जङ्गलमा अध्ययन गरेर फर्किएका बस्नेतले स्थानीयवासीमा लौठ सल्लाको महत्वको विषयमा जानकारी नभएको पाइएको बताए ।

‘महत्व नजान्दा स्थानीयवासीले लौठ सल्ला गाईभै‌सीलाई घाँस र दाउराको रुपमा प्रयोग गरेको पाइयो’ रेञ्जर बस्नेतले भने । हाल वन प्राविधिकको एक टोलीले राम्चे, हिस्तानका जङ्गलमा अध्ययन गरिरहेको छ भने केही दिनमै पश्चिमी क्षेत्रको जङ्गलमा गर्ने जनाइएको छ ।

रेञ्जर बस्नेतका अनुसार अघिल्लो वर्ष ३५० किलोग्राम लौठ सल्लाको पात निकासी भएको थियो । म्याग्दीका मध्यपहाडी क्षेत्रका सामुदायिक तथा राष्ट्रिय वनमा लौठ सल्ला पाइने भएकाले यसको संरक्षण र विस्तार गर्न सकेमा जिल्लालाई आर्थिकरुपमा टेवा मिल्ने अपेक्षा गरिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us