मेडिकल कलेजको नक्साङ्कन पूरा

काठमाण्डु टुडे २०७० पुष २२ गते ५:२९ मा प्रकाशित

धनगढी, २२ पुस–कैलालीको गेटा गाविसमा निर्माण गर्ने भनिएको प्रस्तावित सहिद दशरथ चन्द एकेडेमी अफ हेल्थ साइन्स (मेडिकल कलेज) निर्माणका क्रममा कलेजको नक्साङ्कनको कार्य पूरा भएको छ ।

कलेज प्रवद्र्धन समितिका प्रबन्ध निर्देशक डा. भिमसिं तिङ्करीले कलेजको प्रारुपबारे जानकारी दिँदै चालु आर्थिक वर्षभित्र कलेज निर्माणको लागत र अन्य सबै खाका पूरा गरिने बताए । निर्देशक तिङ्करीका अनुसार हालसम्म मेडिकल कलेजका लागि परामर्शदाता मार्फत तीनवटा नक्साङ्कन गरिएको छ । चालु अर्थिक वर्षमा कलेज निर्माणका लागि चार करोड रुपैयाँ बजेट विनियोजन भएको छ । आगामी तीन वर्षभित्रै पठनपाठनको काम सुरु गर्ने गरी निर्माणको काम थालिएको छ ।

काँची कामाकोठी पीठका जगतगुरु शङ्कराचार्यले गेटा गाविस–१ र २ मा मेडिकल कलेज आफूले बनाइदिने वचनसहित २०५६ सालमा कलेज निर्माण कार्यको शिलान्यास गरेका थिए । तत्कालीन द्वन्द्वलगायतको परिस्थितिका कारण सबै क्षेत्रबाट सहयोग जुट्न नसकेपछि गेटामा कलेज बनाउने योजना अलपत्र परेको थियो । कलेज निर्माण गर्न सरकारले उपलब्ध गराएको जग्गा मुक्तकमैया र सुकुम्बासीले कब्जा गरेपछि कलेज निर्माणमा थप समस्या सिर्जना भएको थियो ।

मेडिकल कलेजको अवधारणा आएपछि नेपाल सरकारले आर्थिक वर्ष २०६४÷६५ मा सोही क्षेत्रमा दशरथ चन्द मेडिकल कलेज बनाउने भन्दै मन्त्रिपरिषदबाटै निर्णय गरेको थियो । फलस्वरुप देशका विभिन्न चार ठाउ“मा मेडिकल कलेजको प्रारम्भिक अनुसन्धानका लागि आर्थिक वर्ष २०६५÷६६ मा मेडिकल कलेज प्रवद्र्धन विकास समिति गठन गरिएको थियो ।

समितिले गरेको करिब एक वर्ष लामो प्रयासपछि सरकारले कलेजका लागि ५१.८७ हेक्टर जमिन भोगाधिकारका लागि प्रदान गरेको बताइएको छ । सदरमुकाम धनगढी–अत्तरिया सडकखण्डस“गै जोडिएको पूर्वपट्टिको उक्त जमिनमा भएका रूख र झाडी कटानीका लागि जिल्ला वन कार्यालय सहमति भइसकेको जनाइएको छ ।

मेडिकल कलेजलाई भोगाधिकार गर्न दिइएको जमिनमध्ये करिब साढे तीन हेक्टर मुक्तकमैया, स्थानीय बासिन्दा र विद्यालयको अतिक्रमणमा परेको छ । मेडिकल कलेजको निर्माणपछि सुदूरपश्चिमको स्वास्थ्य क्षेत्रको विकासमा कोसेढुङ्गा साबित हुने विश्वास गरिएको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us