‘सरकार बनाउने र गिराउने खेलमा लाग्दैनौं’

काठमाण्डु टुडे २०७० पुष २२ गते ४:२० मा प्रकाशित

Baburam-and-Boddiकाठमाण्डु, २२ पुस– एकीकृत नेकपा माओवादीका नेता डा. बाबुराम भट्टराईले सरकार बनाउने र गिराउने खेलमा नलाग्ने स्पष्ट पारेका छन् । अहिलेको सरकारमा नजाने उनको भनाइ छ । पूर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईले एक बर्षभित्र नयाँ संविधान जारी गर्न सकारात्मक भुमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएका छन् ।

नेपालका लागि अमेरिकी राजदुत पिटर डब्लु बोडेसँग सोमबार विहान भएको भेटमा डा. भट्टराईले यस्तो प्रतिबद्धता जनाएका हुन् । भट्टराई निवास सानेपामा भएको भेटमा राजदुत बोडेले संविधानसभामा पार्टीको भुमिका, सरकार गठन र आर्थिक विकासको एजेण्डाबारे भट्टराईसँग जिज्ञासा राखेका थिए ।

जवाफमा भट्टराईले आफ्नो पार्टी प्रतिपक्षमै बसेर लोकतान्त्रिक संविधान जारी गर्न सघाउने बताएका थिए । छिटो संविधानसभा बैठक बोलाएर एक बर्षभित्र नयाँ संविधान जारी गर्ने र देशलाई आर्थिक विकासको एजेण्डामा डोर्याउने उनको भनाइ थियो ।

संविधानसभा निर्वाचन भएको डेढ महिना बितिसक्दा पनि सरकार गठन र संविधानसभाको बैठक अन्यौलमा परेपछि राजदूतहरुले सकृयता बढाएका छन् ।

अमेरिकी राजदुत बोडेले आइतबार काँग्रेस सभापति सुशील कोइरालासँग भेटवार्ता गरी पछिल्लो राजनीतिक परिस्थितिबारे छलफल गरेका थिए । यसैगरी नेपालका लागि भारतीय राजदूत रन्जित रेले आइतबार नै काँग्रेस सभापति कोइराला र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छुट्टा छुट्टै भेटवार्ता गरेका थिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us