
काठमाण्डु, २२ पुस– राष्ट्रपति रामवरण यादवले सोमबार पनि राजनीतिक दलहरुसँग परामर्श जारी राखेका छन् ।
ठूला साना सबै दलका शीर्ष नेताहरुलाई शितल निवासमा बोलाएर छुट्टा छुट्टै भेटेर यादवले संविधानसभाको पहिलो बैठक आह्वान राष्ट्रपतिबाटै गर्ने व्यवस्था मिलाउन ध्यानाकर्षण गराएका छन् ।
राष्ट्रपति यादवले सोमबार संघीय समाजवादी पार्टीका अध्यक्ष अशोक राईसँग छलफल गरेका छन् । शितल निवासमा भएको भेटपछि अध्यक्ष राईले संविधानसभा बैठक बस्न भइरहेको ढिलाईप्रति चिन्ता व्यक्त गरेको जानकारी दिए ।
राष्ट्रपतिले छिटो संविधानसभा बैठक आह्वानको वातावरण बनाउनुपर्नेमा जोड दिएका थिए ।
राष्ट्रपति यादवले सोमबार अपरान्ह दलित जनजाती पार्टीका अध्यक्ष विश्वेन्द्र पासवानसँग छलफल गर्दैछन् । छलफल अपरान्ह चार बजे हुनेछ ।
गत मंसिर चार गते संविधानसभा निर्वाचन सकिए पनि पहिलो बैठक बस्ने टुंगो अझै लागेको छैन । पहिलो बैठक राष्ट्रपतिले बोलाउने की प्रधानमन्त्रीले भन्नेमा विवाद छ ।