चार हजारको आँखा जाँच

काठमाण्डु टुडे २०७० पुष २२ गते २:२० मा प्रकाशित

सोलुखुम्बु, २२ पुस–सन् २०१३ मा सोलुखुम्बु जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुमार्फत चार हजार ६८७ जनाले आँखा जाँच गराएका छन् । कार्यालयको तथ्याङ्कअनुसार क्लिनिकमार्फत तीन हजार ३८५ जनाले, एकदिने आँखा शिविरमार्फत ५९४ र विद्यालय आँखा जाँचमार्फत ७०८ गरी चार हजार ६८७ जनाले आँखा जाँच गराएका हुन् । आँखा जाँच गराउनेमध्ये दुई हजार १०२ पुरुष र दुई हजार ५८५ महिला रहेका छन् ।

सामुदायिक आँखा केन्द्र फाप्लुमा सन् २०१३ को अप्रिल महिनामा सबैभन्दा बढी ३६० र जुलाईमा सबैभन्दा कम २४२ जनाले आँखा जाँच गराएका थिए । कार्यालयका अनुसार आँखा जाँच गराएकामध्ये ३७ जनाको सामान्य शल्यक्रिया गरिएको छ भने पाँचजना गम्भीर समस्या भएकालाई थप उपचारका लागि काठमाण्डुको तिलगङ्गा आँखा अस्पताल सिफारिस गरिएको छ ।

यसअवधिमा दुई हजार ७४२ जनाले औषधि उपचार गराए भने ९३५ चस्मा प्रयोगकर्ताहरुले आँखा जाँच गराएका थिए । जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुले ११० मोतिविन्दुका रोगीलाई शल्यक्रियाका लागि छनोट गरी शल्यक्रियाको तयारीका लागि राखिएको जिल्ला सामुदायिक आँखा केन्द्र फाप्लुका इन्चार्ज पुष्पबाबु बस्नेतले जानकारी दिए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us