सर्वोच्चमा बहस पहिले राष्ट्रपतिको जलपान

काठमाण्डु टुडे २०७० पुष २२ गते ८:१० मा प्रकाशित

काठमाण्डु, २२ पुस–नेकपा एमाले महासचिव इश्वर पोखरेलले राष्ट्रपति डा. रामवरण यादवलाई सर्वोच्च अदालतको फैसला पर्खन सल्लाह दिएका छन् । नयाँ जनादेशका आधारमा राष्ट्रपति चयन गरिनु पर्ने निर्णय गरेको एमाले महासचिव पोखरेलले एक पक्षीय भएर प्रस्तुत नहुन पनि सुझाव दिएका छन् । rambaran
‘संबिधानको संरक्षक र पालनकर्ता राष्ट्राध्यक्षले कमसेकम सर्वोच्च अदालतले पुस २४ गते दिने भनेको फैसलालाई त पर्खनु पर्ने नी । किन अनेक व्यक्तिहरुलाई भेटदै एउटा पक्षको व्यक्ति जस्तो भएर देखा पर्नु भएको होला ? जिम्मेवारीमा बसेका सबैले यसरी नगर्नु नी नत्र देश कसरी थितिमा रहला?’पोखरेलले आइतवार राती फेसबुकमा पोष्ट गरेका छन् । उनले लेखेका छन् ‘अझ अचम्मको कुरा त सेरेमोनियल मानिएका राष्ट्रपति स्वंयम यस्ता विवादको एउटापक्ष बनेर उत्रिनु भएको छ । दुःख लाग्छ । अझ अनौठो त अदालतमा बिचाराधिन रहेकोमा सम्मानित राष्ट्रपतिज्यू आफै एउटा पक्ष बनेर आफनो बिचार प्रवाह गरिरहनु भएको भनेर राष्ट्रपति कार्यालयको स्रोतले जनाइरहेका छन् ।’

पोखरेलले राष्ट्रपतिलाई विवादमा तान्न राजनीतिक दलका नेताहरु पनि लागेको आरोप लगाएका छन् । उनले लेखेका छन्  ‘संबिधानसभालाई पूर्णता दिने, जति सकिन्छ चाँडो संबिधानसभाको बैठक बोलाउनु पर्ने र जति पनि विवादित वा विवादास्पद बिषय देखिएका छन् तिनलाई संबिधानसभाको कार्य सूची बनाउनु पर्ने अहिलेको आवश्यकतालाई प्राथमिकता दिन छोडेर अहिले एउटा हलुका वा भनौं अनुचित लाग्ने बहसमा राजनीतिक पार्टीका नेताहरु लागेको देखिदैछ ।’

दोस्रो संबिधानसभाको बैठक राष्ट्रपति वा प्रधानमन्त्री कसले बोलाउने भन्ने बिषयमा सर्वोच्च अदालतमा परेको रिट माथि २४ गते सर्वोच्चमा बहस हुँदैछ । त्यसको अघिल्लो दिन राष्ट्रपति यादवले जलपानका लागि प्रत्यके राजनीतिक दलका पाँच पाँच जनालाई निमन्त्रणा पठाएका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us