
काठमाण्डु, २१ मंसिर– नेकपा एमालेले दुई दलको सहकार्यमा संविधानसभाको पहिलो दल नेपाली काँग्रेसलाई बाहिरै राखेर राष्ट्रपति परिवर्तन गर्नुका साथै सरकारको नेतृत्व लिनुपर्ने प्रस्ताव एकीकृत माओवादीसमक्ष राखेको छ ।
दुई दलका शीर्ष नेतृत्वबीच काठमाण्डुको बबरमहलस्थित शान्तिकोषको सचिवायलमा आइतबार सा“झ भएको छलफलमा एमाले नेताहरुले यस्तो प्रस्ताव राखेका हुन् ।
बैठक स्रोतका अनुसार एमाले नेताहरुले राष्ट्रपति परिवर्तन गर्न तयार भए सत्ता बाँडफाँटमा सम्मानजनक हिस्सा दिन तयार रहेको आश्वासन माओवादी नेताहरुलाई दिएका थिए ।
माओवादीले भने एमाले प्रस्तावबारे पार्टी केन्द्रीय समिति बैठकमा छलफल गरी जवाफ दिने बताएका छन् । एकीकृत माओवादीलाई यसअघि काँग्रेसले पनि राष्ट्रपति थयावत राखेर सत्ता गठबन्धन बनाएर अघि बढ्न प्रस्ताव गरिसकेको छ ।
काँग्रेस आफ्ना पूर्वमहामन्त्रीसमेत रहेका रामवरण यादवलाई राष्ट्रपतिमा कायमै राख्नुपर्ने अडानमा छ । एमाले भने संविधानसभा निर्वाचनपछि ताजा जनादेश आएकाले राष्ट्रपति परिवर्तन गर्नुपर्ने पक्षमा देखिएको छ ।
बैठकमा एकीकृत माओवादीका नेता डा बाबुराम भट्टराई भने उपस्थित भएनन् । भट्टराईको निजी सचिवालयले भने उनले प्रयोग गर्ने गरेको गाडी विग्रिएकाले बैठकमा उपस्थित हुन नसकेको जनाएको छ ।