दाङ देउखुरीका डुबान पीडित काठमाण्डुमा

काठमाण्डु टुडे २०७० पुष २१ गते ५:१६ मा प्रकाशित

dangकाठमाण्डु, २१ पुस– दाङको देउखुरीलाई डुवान मुक्त बनाउन तयार पारिएको ८४ करोड बढीको गुरुयोजना कार्यान्वयनको लागि सरकारलाई दवाव दिन देउखुरीको एक प्रतिनिधि मण्डल काठमाण्डु आएको छ ।

जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीले लालमटीया, सिसहनिया, सोनपुर, चैलाहीलगायत देउखुरीका गाविसलाई दीर्घकालीन रुपमा डुबानबाट बचाउन खोला तथा नदीहरुमा तटबन्धको योजना बनाएको छ । तटवन्ध गर्न ८४ करोड १३ लाख ९४ हजार रुपैयाँ बढी खर्च लाग्ने अनुमान छ । सोही गुरुयोजना कार्यान्वयनकालागि दवाव दिन दाङ देउखुरीको प्रतिनिधि मण्डल आइतबार काठमाण्डु आईपुगेको हो ।

बाढीवाट प्रभावित हुन सक्ने अति सम्वेदनशील क्षेत्रलाई तटवन्ध गर्न कम्तिमा पाँच करोड रुपैयाँ आवश्यक पर्ने जल उत्पन्न प्रकोप नियन्त्रण कार्यालय लमहीले जनाएको छ । प्रतिनिधिमण्डलले सरोकारवाला निकायका प्रतिनिधिलाई भेटेर बजेट निकासाको लागि पहल गर्ने छ । टोलीले मन्त्रिपरिषद अध्यक्ष, अर्थमन्त्री, अर्थसचिव, सिचाई मन्त्री, सिचाई सचिव, योजना आयोगका उपाध्यक्ष लगाएतलाई भेट्ने कार्यक्रम छ ।

वर्षेनी आउने बाढीका कारण जनधनको क्षति भएपछि देउखुरीबासीले गंगाराम भट्टराईको नेतृत्वमा दोलई खोला तटवन्ध निर्माण तथा सहयोग मुल समिति गठन गरेका छन् । सो समितिले डुबानबाट देउखुरीका गाविसलाई बचाउन पहल गर्दै आएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us