प्रचण्डको नियमित भेटघाट बन्द

काठमाण्डु टुडे २०७० पुष २१ गते १२:५१ मा प्रकाशित

prachanda 2काठमाण्डु, २१ पुस– एकीकृत नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबारदेखि सबै नियमित भेटघाट बन्द गरेका छन् । उनले अरुसँग फोनमा समेत कुरा नगर्ने निर्णय लिएका छन् । आफ्नै पार्टीका नेताहरुले प्रचण्डलाई भेट्न चाहे पनि भेट्न पाउने छैनन् । उनले मुख्य राजनीतिक दलका शीर्ष नेताहरुको भने फोनसम्म उठाउने छन् । प्रचण्डको यस्तो निर्णय सँधैभरीको लागि चाहिँ होइन ।

एमाओवादी अध्यक्ष प्रचण्डले यस्तो निर्णय किन गरे होलान् भन्ने जिज्ञासा तपाईंलाई लाग्न सक्छ । सँधैभरी राजनीतिक भेटघाट र छलफलमा व्यस्त रहने प्रचण्डले एक्कासी यस्तो निर्णय लिएपछि जिज्ञासा लाग्नु स्वाभाविक हो । वास्तविकता के हो भने प्रचण्ड आगामी २६ गते बस्ने पार्टी केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रतिवेदन तयार पार्न व्यस्त छन् । त्यसैले उनले कसैसँग नभेट्ने र फोनमा पनि कुरा नगर्ने निर्णय लिएका हुन् ।

‘आजदेखि सबै नियमित भेटघाट बन्द गर्नुभएको छ,’ प्रचण्डका स्वकीय सचिव चुडामणी खड्काले काठमाण्डु टुडेसँग कुरा गर्दै भने, ‘केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गर्ने प्रतिवेदन तयार नभएसम्म यस्तै हो ।’

प्रचण्डले आफ्नो निजी सचिवालयलाई भेटघाटको आग्रह नस्वीकार्न निर्देशन पनि दिएका छन् । ‘अध्यक्ष आफैले कसैलाई भेट्न बोलाउनु भयो भने छुट्टै कुरा नत्र आफ्नै पार्टीका नेताहरुसँग समेत भेटघाट हुदैन,’ स्वकीय सचिव खड्काले भने । आफ्नै पार्टीका पदाधिकारीहरुलाई भने आवश्यक परे प्रचण्डले भेट्न बोलाउने छन् ।

सुशील र झलनाथलाई भने छुट

नेपाली काँग्रेसका सभापति सुशील कोइराला र नेकपा एमाले अध्यक्ष झलनाथ खनाललाई भने एमाओवादी अध्यक्ष प्रचण्डसँग भेट्ने छुट छ । उनीहरुले फोनमा पनि कुरा गर्न पाउने छन् । तर, प्रचण्डले चाहे मात्रै । ‘सुशील र झलनाथ जीको फोन आयो भने दिनू भन्नु भएको छ,’ प्रचण्डको निजी सचिवालयले भन्यो ।

यसपटक रिसोर्ट गएनन् प्रचण्ड

राजनीतिक प्रतिवेदन तयार पार्न यसअघि एकान्त स्थान खोज्दै रिसोर्टहरुमा पुग्ने प्रचण्ड यसपटक भने लाजिम्पाटस्थित आफ्नै निवासमा छन् । उनले आफ्नै निवासमा बसेर केन्द्रीय समिति बैठकमा पेश गर्ने राजनीतिक प्रस्ताव तयार पार्दैछन् । उनको प्रस्तावमा संविधानसभा निर्वाचनको परिणाम, संविधानसभामा पार्टीको भुमिका, पार्टीले लिने आगामी रणनीति लगायत विषय समेटिने छन् ।

यसअघि शनिबार प्रचण्डले बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठलाई आफ्नै निवासमा बोलाएर राजनीतिक प्रस्तावबारे छलफल गरेका थिए । स्रोतका अनुसार भट्टराईले प्रचण्डको प्रस्तावमा चित्त नबुझे आफ्नो छुट्टै प्रतिवेदन बैठकमा पेश गर्ने तयारी गरेका छन् ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us