
काठमाण्डु, २१ पुस–संविधानसभा बैठकको लागि सबै तयारी पूरा भएको छ । नयाँबानेश्वरस्थित संविधानसभा तथा व्यवस्थापिका संसदको बैठक कक्ष, संसदीय समितिका कार्यालय, सभामुखको कार्यकक्ष, संसदीय दलहरुको कार्यालय लगायतका सबै भौतिक तथा प्राविधिक तयारी पूरा भएको हो ।
यसैगरी सूचना केन्द्र र आन्तरिक प्रणाली लगायत सबै तयारी सकिएको संसद सचिवालयले जनाएको छ । ‘हाम्रो तर्फबाट सबै तयारी सकिसक्यौं,’ संसद सचिवालयका प्रवक्ता मुकुन्द शर्माले भने, ‘जुनसुकै मितिमा बैठक आह्वान भए पनि समस्या छैन ।’ विगतको संविधानसभा बैठकको बेला देखिएका व्यवस्थापकीय समस्याहरु यसपाली नदोहोरिने उनले जिकीर गरे ।
संसद सचिवालयले विगतमा आइपरेका समस्या र त्यसलाई हटाउने उपायबारे कार्यदल नै गठन गरी अध्ययन गरेको थियो । ‘हाम्रो कार्यदलको निष्कर्षको आधारमा सबै तयारी भएका छन्, अब कुनै समस्या आउदैन,’ प्रवक्ता शर्माले भने ।
गत मंसिर चार गते संविधानसभा निर्वाचन सकिए पनि पहिलो बैठक बस्ने टुंगो अझै लागेको छैन । पहिलो बैठक राष्ट्रपतिले बोलाउने की प्रधानमन्त्रीले भन्नेमा विवाद छ ।