बृद्धबृद्धालाई आश्रमबाट निकालियो

काठमाण्डु टुडे २०७० पुष २१ गते १:५२ मा प्रकाशित

नेपालगन्ज, २१ पुस–परिवारबाट निकालिएका वृद्धवृद्धालाई आश्रय दिइरहेको वृद्धाश्रमका पदाधिकारीले नै अशक्त भनी निकाल्छन् भने त्यस्तो प्रवृत्तिलाई अमानवीयताको पराकाष्ठाभन्दा दुई मत नहोला ।

नेपालगन्ज–१३ स्थित भेरी वृद्धाश्रममा महिनौँदेखि आश्रय लिइरहेका दुईजना अत्यन्तै अशक्त वृद्धालाई आश्रमका अध्यक्ष युवराज शर्माले आश्रमबाट निकाल्नेसम्मको दानवीय प्रवृत्ति प्रदर्शन गरे । शीतलहर, बाक्लो कुहिरो अनि तीन दिनदेखि घामसमेत नलागेको अवस्थामा नेपालगन्ज बजारको फुटपाथमा चिसोले छटपटाइरहेका आफ्नो नामसमेत उच्चारण गर्न नसक्ने ती वृद्धालाई कठ्याङ्ग्रिएको अवस्थामा सर्वसाधारण नागरिकले भेटेपछि त्यो रहस्योदघाटन भएको हो ।

नेपालगन्जस्थित ट््याक्टर व्यवसायी समितिको कार्यालयको पिँढीमा वृद्धाहरुलाई त्यहाँका स्थानीय बासिन्दाले भेटेपछि प्रहरीलाई खबर गरेका थिए । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रेम बस्नेतले तत्काल वृद्धाश्रमका अध्यक्ष शर्मालाई अनुनय–विनय गर्दासमेत उनले शुरुमा आनाकानी गरेपछि प्रहरी र स्थानीय बासिन्दाको दबाबपछि ती वृद्धालाई पुनः आश्रम पुर्याइएको छ ।

‘आफ्नो सरसफाइ आफैले गर्न नसकेको भन्दै उनीहरुलाई यसअघि पनि अध्यक्ष शर्माले निकालेपछि स्थानीय बागेश्वरी मन्दिरको पिँढीमा बस्न बाध्य भएका थिए, त्यसबेला पनि प्रहरीले नै उनीहरुलाई आश्रम पुर्याएको थियो,’ आश्रमका छिमेकीहरु बताउँछन् ।

विभिन्न दाताको सहयोगमा खोलिएको वृद्धाश्रमका अध्यक्ष शर्माले वृद्धवृद्धालाई गरेको यस्तो अमानवीय व्यवहारलाई मानवअधिकारकर्मीहरुले ‘दानवीय प्रवृत्ति’ भनी टिप्पणी गरेका छन् । ‘वृद्धवृद्धालाई यो वा त्यो कुनै पनि बहानामा आश्रमबाट निकाल्नु दानवीय प्रवृत्ति हो, हामी यसमा अत्यन्त संवेदनशील छौं, यस विषयमा अनुगमन लगायतका कारबाही प्रक्रिया अघि बढाइन्छ’, मानवअधिकारवादी संस्था इन्सेकका क्षेत्रीय संयोजक भोला महतले भने । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us