पार्टीको नेतृत्व फेर्नुपर्छ : देवेन्द्र पौडेल

काठमाण्डु टुडे २०७० पुष २० गते ९:३६ मा प्रकाशित

debendra paudelकाठमाण्डु, २० पुस– एकीकृत नेकपा माओवादीका नेता देवेन्द्र पौडेलले पार्टीको नेतृत्व र नीति असफल भएकोले अब नेतृत्व परिवर्तन गर्नु पर्ने बताएका छन् ।

रपोटर्स क्लबले गरेको साक्षात्कारमा पौडेलले संविधानसभा निर्वाचनको परिणामले नेतृत्वलाई असफल देखाएकाले अब पार्टी भित्र नेतृत्व परिवर्तनको मुद्दा औपचारिक रुपमै प्रवेश गरेको बताए ।

आगामि केन्द्रीय समितिको बैठकमा नेतृत्व परिवर्तनको मुद्दामा बहस हुने उनले बताए । पौडेलले अब पुरानो पुस्ताले नभइ नयाँ पुस्ता नेतृत्व लिन तयार हुनुपर्ने बताए । पुरानो नेतृत्व लामो समयसम्म बसिरहने प्रथाले नयाँको क्षमता लुकेको उनको भनाइ थियो ।

उनले महाधिवेशनमै ६५ देखि ७० वर्षसम्म र दुई कार्यकाल भन्दा बढी नेतृत्व गर्न नहुने आवाज उठेको भन्दै अहिले त्यसको औचित्य पुष्टि भएको बताए ।

पौडेलले समानुपातिकतर्फको सभासद चयन प्रक्रियामा संस्थागत निर्णय नमिलेको भन्दै यसका बाबजुद पनि पार्टी भने फुट्न नदिने स्पष्ट पारे । पार्टी फुट्ने र फुटाउने अधिकार कसैलाई नभएको भन्दै पौडेलले युवालाई नेतृत्व सुम्पेर मतभेद व्यवस्थापन गर्नुपर्ने बताए ।

पार्टी भित्र त्याग, निष्ठा र आर्दश हराएर गुट, पद, पैसा, अवसरवाद, उपयोगितावाद र गुटवाद हावी भएको भन्दै उनले सबै दलहरु जनताको नजरमा गिर्न थालेको बताए ।

कार्यक्रममा कांग्रेस नेता डा मिनेन्द्र रिजालले समानुपातिक निर्वाचन प्रणालीको विषयमा प्रश्न उठेकोले अब यो प्रणालीलाई लम्ब्याउन नहुने भन्दै आगामि बन्ने संविधानमा यो प्रणालीलाई छाड्नु पर्ने बताए । निर्वाचनलाई समावेशी बनाउनु पर्ने भएपनिसमानुपातिक निर्वाचन प्रणालीमा प्रश्न उठेकोले नयाँ संविधान बनाउँदा यसको विषयमा सोच्न जरुरी रहेका बताए ।

कार्यक्रममा एमाले केन्द्रीय सदस्य कर्णबहादुर थापाले समानुपाति निर्वाचन प्रणाली अन्र्तगतको बन्द सूचिबाट सभासद छान्ने प्रणाली असफल भएकोले अब यसलाई नयाँ बन्ने संविधानमा राख्न नहुने तर्क गरे । पार्टी भित्रको आन्तरिक लोकतन्त्र ठिक नभएको र मुल्यांकनको आधार नभएको मुलुकमा बन्दसूचि प्रणाली उपयूक्त नहुने टिप्पणी गरे ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us