
काठमाण्डु, २० पुस – नेपाली काँग्रेसका महामन्त्री प्रकाशमान सिंहले अन्तर्राष्ट्रिय प्रचलनअनुसार संविधानसभाको बैठक राष्ट्रपतिले बोलाउनु नै उचित हुने बताएका छन् ।
बुद्धनगर युथ कमिटीले राजधानीमा आयोजना गरेको ‘बधाई तथा भेटघाट’ कार्यक्रममा बोल्दै सिंहले उच्चस्तरीय राजनीतिक समितिले सुझाव दिएपछि राष्ट्रपतिले संविधानसभा बैठक बोलाउने बताए ।
‘सरकारले ठूलो जिम्मेवारी पूरा गरिसके पछि अन्तिममा आएर विवाद झिक्नु राम्रो हुँदैन, अघिल्लो पटक तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला राष्ट्र प्रमुखसमेत भएकाले उहाँले नै बोलाउनुभएको हो, महामन्त्री सिंहले भने, ‘अहिले राष्ट्रपति भएकाले उहाँले नै बोलाउनुपर्छ, यो संसारकै नियम हो ।’
काँग्रेसको नेतृत्वमा सहमतिको सरकार गठनका लागि प्रयास भइरहेको जानकारी दिँदै सिंहले सबै दललाई समेटेर एक वर्षभित्रै लोकतान्त्रिक संविधान जारी गर्नुको विकल्प नभएको बताए ।