४३ जनामाथि मानव बेचबिखनको मुद्दा

काठमाण्डु टुडे २०७० पुष २० गते ७:२४ मा प्रकाशित

कञ्चनपुर, २० पुस – माइती नेपाल कञ्चनपुरले ११ वर्षको अवधिमा ४३ जनाबिरुद्ध मुद्दा दायर गरेको छ । सन् २००३ बाट कञ्चनपुरलाई कार्यक्षेत्र बनाएको माइती नेपालले २०१३ को अन्त्यसम्म ४३ जनामाथि मानव बेचबिखनबिरुद्ध र जबरजस्ती करणी मुद्दा चलाएको हो ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले मानव बेचबिखनबिरुद्ध २५ जना र जबरजस्ती करणीबिरुद्ध १६ जनामाथि मुद्दा चलाइएको जानकारी दिइन् ।

माइती नेपालले कञ्चनपुरलाई कार्यक्षेत्र बनाएको पाँचौँ वर्ष अर्थात् सन् २००७ मा पहिलोपटक चारजना मानव बेचबिखन मुद्दाविरुद्ध  दर्ता गरेको थियो ।
यस्तै संस्थाले कञ्चनपुर आएकै वर्ष सन् २००३ मा चार जनाबिरुद्ध जबरजस्ती करणी मुद्दा चलाएको संयोजक भट्टले बताइन् ।

उनका अनुसार ११ वर्षको अवधिमा माइती नेपालले ९६ जनाको उद्धार गरेको छ । जसमध्ये १७ जना बालबालिका रहेका छन् । यसैगरी माइती नेपालले सोही अवधिमा विभिन्न प्रलोभनमा परी भारतीय सहरका साथै तेस्रो मुलुक जान भनेर हिंडेका डेढ हजारभन्दा बढीलाई सीमा क्षेत्रमा रोकाथाम गरेको छ ।

संयोजक भट्टका अनुसार ११ वर्षको अवधिमा माइती नेपालले झन्डै २२ हजार जनालाई चेलिबेटी बेचबिखनबिरुद्ध परामर्श दिएको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us