
चितवन, २० पुस – आगामी वर्षका लागि विपद् व्यवस्थापनको नयाँ राष्ट्रिय रणनीति तय गर्न देशभरका रेडक्रसकर्मीहरु चितवनको सौराहामा भेला भएका छन् । तीनदिने भेलामा देशभरका १६० रेडक्रसकर्मीको सहभागिता रहेको छ ।
आइतबार नयाँ रणनीति तय गर्दै सकिने भेलामा अहिलेसम्म गरेका व्यवस्थापनका कार्य, आइपरेका समस्या, उत्कृष्ट अभ्यासको समीक्षा भइरहेको विपद् व्यवस्थापन समितिका केन्द्रीय सभापति हरिप्रसाद न्यौपानेले जानकारी दिए ।
गोष्ठीले अगामी वर्षमा भूकम्प जोखिम न्यूनीकरण र बाढी पहिरोबाट हुने क्षति न्यूनीकरणको विषयमा नयाँ रणनीति तय गर्ने नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय अध्यक्ष सन्जित थापाले बताए ।
उनका अनुसार यसवर्ष नेपालका विभिन्न क्षेत्रमा विपद्मा परेकाको उद्धार र राहत व्यवस्थापनका लागि भवन निर्माण गरी खाद्यानको व्यवस्थापन गर्ने तयारी गरिएको छ ।
विपत् व्यवस्थापन समितिका केन्द्रीय सभापति हरिप्रसाद न्यौपानेको अध्यक्षता जारी गोष्ठीमा नेपालमा प्रत्येक वर्ष करिब १० लाख मानिस विपद्बाट घरबारबिहीन हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ ।
रेडक्रसले गएको वर्ष ४० लाख मानिसलाई सेवा दिएको जनाएको छ ।