
काठमाण्डु, २० पुस – संविधानसभाको बैठक कसले आह्वान गर्ने भन्ने विषयको टुंगो लगाउन दलहरुले छलफलको तयारी गरेका छन् ।
अन्तरिम संविधानमा सरकार प्रमुखले संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था भएपनि अन्तराष्ट्रिय मान्यता राष्ट्रप्रमुखले आह्वान गर्नुपर्ने भएकाले दलहरुले छलफलबाटै यस विषयको टुंगो लगाउने तयारी गरेका हुन् ।
अन्तरिम संविधान निर्माणताका तत्कालीन राष्ट्राध्यक्ष रहेका राजाको अधिकार निलम्बन गरी प्रधानमन्त्रीमा राखिएकोले संविधानमा सरकार प्रमुखले नै संविधानसभाको बैठक बोलाउने राखिएको हो ।
संविधानसभाको बैठक कसले आह्वान गर्ने भन्ने विषयमा फरक–फरक धारणा सार्वजनिक हुन थालेपछि उच्च स्तरीय राजनीतिक संयन्त्रको बैठक बसेर त्यसको टुंगो लगाउने तयारी भइरहेको स्रोतले जनाएको छ ।
शनिबार अपराह्न उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने सम्भावना रहेको एमाओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका सहयोगी शिव खकुरेलले जानकारी दिए ।
यसअघि राष्ट्रपति डा. रामवरण यादवले दलका नेताहरुलाई भेटेर अन्तरिम संविधान संशोधन गरी राष्ट्रपतिबाटै संविधानसभाको बैठक आह्वान गर्ने व्यवस्था मिलाउन दवाव दिएका थिए । अन्तराष्ट्रिय मान्यता र परम्पराअनुसार राष्ट्रप्रमुखको हैसियतमा आफूले नै बैठक आह्वान गर्न पाउनु पर्ने यादवको तर्क छ ।