
कञ्चनपुर, २० पुस – महाकाली अञ्चल अस्पताल महेन्द्रनगरमा सञ्चालन हँुदै आएको एक्सरे सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन् । एक महिनादेखि एक्सरे मेसिन बिग्रिएपछि सेवा बन्द भएको हो ।
तालिम प्राप्त जनशक्तिको अभावमा अस्पतालका चिकित्सकहरूले नै एक्सरे मेसिन सञ्चालन गर्दै आएको भए पनि मेसिननै बिग्रिएपछि एक महिनादेखि पूर्णरुपमा सेवा ठप्प रहेको अस्पतालका चिकित्सक डा अर्जुन श्रेष्ठले बताए ।
एक्सरे सेवा सञ्चालनका लागि रेडियोलोजिस्ट चाहिने भए पनि अस्पतालमा वर्षैंदेखि सो दरबन्दी रिक्त रहेको उनले बताए । एक्सरे सेवा बन्द भएपछि बिरामीहरूलाई चर्को शुल्क तिर्दै निकटवर्ती भारतीय बजार र कैलालीको धनगढी जानुपर्ने बाध्यता आएको छ ।
अस्पतालले पाँचसय रुपैयाँमा एक्सरे सेवा प्रदान गर्दै आएकोमा बाहिर जाने बिरामीले एक्सरे गराएको तीन हजारभन्दा बढी शुल्क तिर्दै आएका छन् । एक्सरे सेवा बन्द हुँदा बिरामीको उपचार गर्नसमेत समस्या भइरहेको चिकित्सक श्रेष्ठले बताए ।