सुर्खेतमा थारु संग्रहालय स्थापनाको माग

काठमाण्डु टुडे २०७० पुष २० गते १:१६ मा प्रकाशित

सुर्खेत, २० पुस – लाटिकोइली–६ पातलगङ्गामा भएको थारुहरूको भेलाले सुर्खेतमा थारु संग्रहालय स्थापना गर्नुपर्ने माग गरेको छ ।

सुर्खेत उपत्यकाकै आदिवासी थारु जातिको मौलिक पहिचानका सांस्कृतिक वस्तु, हस्तकला, पुराना गरगहना, चालचलन, रीतिरिवाजमा प्रयोग गरिएका चिज दिनप्रतिदिन लोप हुँदै गइरहेकाले यसको संरक्षणको लागि संग्रहालय स्थापना गर्नुपर्ने सहभागीहरूले औँल्याएका हुन् ।

थारुहरूको पहिचान धरासायी बन्दै गइरहेको अवस्थामा यसको संरक्षणका लागि प्रयास नगरिए सिङ्गो थारु जातिको इतिहास मेटिनेमा थारु बुद्धिजीवीले चिन्ता प्रकट गरेका छन् । भेलामा थारु कल्याणकारिणी सभाका उपाध्यक्ष मानबहादुर चौधरीले थारु संग्रहालय स्थापनासँगै थारु मन्दिर (ठन्वा) पनि बनाउनुपर्नेमा जोड दिए ।

थारुहरूको धार्मिक परम्परासमेत लोप हुने अवस्था आएकाले भोलिको दिनमा थारुको संस्कार कस्तो थियो भनेर युवा पुस्तालाई सिकाउनसमेत नसकिने उनको भनाइ थियो ।

यस्तै थारु साहित्यकार मानबहादुर पन्नाले थारु संग्रहालय स्थापनाले यस क्षेत्रकै पर्यटन व्यवसायमा महत्वपूर्ण योगदान पुग्ने भएकाले जिल्लाकै प्रतिष्ठा वृद्धि हुने बताए ।

थारु लोकतान्त्रिक संघका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले सुर्खेती थारुहरूको मागलाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने बताउँदै संग्रहालय स्थापनाका लागि स्थानीय निकाय गाविस, जिविस तथा नगर विकास समितिले उपयुक्त स्थान र सहयोग उपलब्ध गराउनुपर्नेमा जोड दिए ।
कार्यक्रममा उत्तरगंगा र लाटिकोइली गाविसका करिब २०० भन्दा बढीको उपस्थिति रहेको थियो ।

भेलाले सुर्खेतमा थारु गुरुवा प्रणाली एवम् थारु वैद्य विधिको संरक्षण गर्दै त्यसको संस्थागत विकासका लागि थारु गुरुवा तथा वैद्य संघको जिल्ला तदर्थ समितिसमेत गठन गरेको छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us