
काठमाण्डु, १९ पुस– गैरकानुनी रुपमा ‘भ्वाइस ओभर इन्टरनेट प्रोटोकल’ (भिओआइपी) सञ्चालन गरेको अभियोगमा केन्द्रीय अनुसन्धान ब्युरोले एक जना बंगलादेशी नागरिकलाई पक्राउ गरेको छ ।
ब्युरोको टोलीले काठमाण्डु महानगरपालिका ३ लोसाल जनमार्गस्थित गीताकुमारी जोशीको घर भाडामा लिएर ‘कल बाइपास’ गरेको अभियोगमा गएराति बंगलादेशका नागरिक तबराकुल इस्लामलाई पक्राउ गरेको हो ।
प्रहरीले कल बाइपास गर्न प्रयोग हुने विभिन्न उपकरण तथा दूरसञ्चार सेवा प्रदायक कम्पनीका सिमकार्ड पनि बरामद गरेको जनाएको छ । ब्युरोका अनुसार अवैध ढंगले भिओआइपी सञ्चालन गरेको अभियोगमा हालसम्म ८८ जना स्वदेशी र २१ जना विदेशी गरी १ सय ९ जनालाई पक्राउ गरी कारबाहीका लागि सम्बन्धित निकायमा पठाएको छ ।
पक्राउ परेका विदेशीमा १८ जना बंगलादेशका नागरिक छन् । अभियुक्तहरूबिरुद्ध ११ अर्ब २८ करोड ८९ लाख ५८ हजार बिगो दाबी लिई मुद्दा दायर गरिएको ब्युरोले जनाएको छ ।