
काठमाण्डु, २० पुस– आइतबारदेखि सर्वोच्च तथा मातहतका सबै अदालतहरु विहान ९ बजेदेखि खुल्ने भएका छन् ।
सरकारले प्रोत्साहन भत्ता दिने भएपछि अदालत चाँडै खुल्ने भएका हुन् । न्यायालयका कर्मचारीले गत फागुनदेखि प्रोत्साहन भत्ता लिँदै आएका छन् ।
सर्वोच्च अदालतका शाखा अधिकृत देवेन्द्र ढकालले सर्वोच्चका सबै शाखा एक घन्टा चाँडैदेखि खुला राख्न परिपत्र गरिसकेका छन् ।
अदालतको आन्तरिक कामकाज गरेबापत न्यायपालिकाका कर्मचारीलाई आर्थिक वर्ष २०७०/०७१मा सुरु तलमानमा बढीमा ५० प्रतिशतमा नबढ्ने गरी प्रोत्साहन भत्ता दिने निर्णय भएकाले साबिकको कार्यालय समयभन्दा अतिरिक्त काम गर्नुपर्ने र एकै समयमा अतिरिक्त काम गर्न उपयुक्त हुने भएकाले यही पुस ११गतेको निर्णयबमोजिम विहान ९ बजेदेखि नै कार्यालय खुला गर्न भनिएको छ ।
अदालतका प्रवक्ता श्रीकान्त पौडेलले भत्ता खाने र काम नगर्ने प्रवृत्ति अन्त्य गर्न ९ बजेदेखि नै सबै तहका न्यायालय खुला गर्न लागिएको र यसबाट आन्तरिक कामकारबाही चुस्त हुने, फैसला तयार पार्नेदेखि सबै आन्तरिक काम कारबाहीमा सहज हुने र सेवाग्राहीलाई पनि सजिलो हुने जानकारी दिए ।
सम्बद्ध कर्मचारीले आफूले सम्पादन गरेको कामका आधारमा बढीमा ५० प्रतिशतसम्म प्रोत्साहन भत्ता लिन पाउने भएका छन् । सो निर्णयले अब न्यायालय कात्तिक १६ देखि माघ १५ सम्म सात घन्टा र अन्य सयमा आठ घन्टा खुला हुने छ ।
प्रोत्साहन भत्ता खाने राजस्व समूह अन्तर्गतका कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, माहालेखा परीक्षकको कार्यालयलगायतमा भने अतिरिक्त समय काम गर्नुपर्ने औपचारिक निर्णय भएको छैन । रासस