संविधानसभा अदालतमा सुनुवाइ प्रारम्भ

काठमाण्डु टुडे २०७० पुष १९ गते १३:०९ मा प्रकाशित

काठमाण्डु, १९ पुस – संविधानसभा अदालतमा निर्वाचनका सम्बन्धमा परेका उजुरीहरुको सुनुवाइ प्रारम्भ भएको छ ।

विभिन्न क्षेत्रबाट परेका २० उजुरीमध्ये निर्वाचनमा धाँधली गरिएको भन्दै सोलुखुम्बुबाट निर्वाचित नेपाली काँग्रेसका सभासद् बलबहादुर केसी विरुद्ध परेको उजुरीको शुक्रबार सुनुवाई भएको छ । केसीलाई अदालतले अन्तिम निर्णय नभएसम्म सभासद्को हैसियतले काम गर्ने बाटो खुला गरिदिएको छ ।

‘निर्वाचनका बेला धाँधली गरेर नेता केसी विजयी भएकाले  सभासद्को हैसियतले सपथलगायत कुनै पनि कार्य नगर्न नगराउन’ अन्तरकालीन आदेश माग गर्दै एकीकृत नेकपा(माओवादी)का गोम्बु शेर्पाले गत मंसिर १२ गते अदालतमा उजुरी दर्ता गराएका थिए ।

अदालतका अध्यक्ष कल्याण श्रेष्ठ तथा सदस्यद्वय गिरीशचन्द्रलाल तथा सुशीला कार्कीको इजलासले सो उजुरीमा अन्तरकालीन आदेश जारी गर्नुपर्ने अवस्था नदेखिएको र अन्तिम निर्णय नभएसम्म यथास्थितिमा राख्ने आदेश दिएकाले हालका लागि बाटो खुला भएको उपरजिस्ट्रार विश्वराज पौडेलले जानकारी दिए ।

सो उजुरीमा विपक्षी केसीका तर्फबाट बहस गरेका कानुन व्यवसायी यदुनाथ खनालले उजुरीकर्ता अदालतमा उपस्थित नभएको र उनका तर्फबाट कुनै पनि कानुन व्यवसायीले बहस पनि गर्न नआएकाले अदालतले यस्तो आदेश गरेको बताए ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us