
पर्सा, १८ पुस – अंग्रेजी नयाँ वर्षको अवसरमा पर्साको ठोरी गाविसमा बुधबार ४५ हजारभन्दा बढी पर्यटक पुगेको स्थानीयवासीले जानकारी दिएका छन् ।
ठोरीको पर्यटकीय क्षेत्रमा बुधबारमात्रै ४५ हजार पर्यटक पुगेको स्थानीय शिक्षक प्रेम लामाले जानकारी दिए । भारतसहित छिमेकी जिल्ला मकवानपुर र चितवन तथा वीरगन्जबाट पनि सर्वसाधारण त्यहाँ पुगेका लामाले बताए ।
उनका अनुसार ठोरीमा रहेका पर्यटकीय स्थलहरु संसारीडाँडा, राईधारा, अमृतधारालगायतका स्थानको अवलोकनका लागि पर्यटकहरु त्यहाँ पुगेका हुन् । ठोरीमा बुधवा मात्रै दुई करोडको कारोबार भएको अनुमान गरिएको छ ।
यसरी नै वीरगन्जको पर्यटकीयस्थल घडीअर्वाको पनि बुधबार रातिसम्ममा २० हजारभन्दा बढीले अवलोकन गरेको घडीअर्वा स्पोर्टस् क्लबले जनाएको छ ।