हलुका सवारीका साधनको आयात बढ्यो

काठमाण्डु टुडे २०७० पुष १८ गते ४:०३ मा प्रकाशित

पर्सा, १८ पुस–गत आर्थिक वर्षको तुलनामा चालु आर्थिक वर्षको पाँच महिनामा हलुका सवारी साधान आयातबाट डेढ अर्बभन्दा बढी राजस्व सङ्कलन भएको छ । नेपालको मुख्य व्यापारिक नाका वीरगन्ज भन्सारबाट चालु आर्थिक वर्षको साउनदेखि मङ्सिरसम्ममा वीरगन्ज भन्सारले मुलुकबाट पाँच हजार ९ सय ५६ वटा हलुका सवारी साधान आयातबाट पाँच अर्ब ९६ करोड ९७ लाख रुपैयाँ राजस्व सङ्कलन गरेको हो ।

सङ्कलित राजस्व आर्थिक वर्ष २०६९÷७० को तुलनामा एक अर्ब ६७ करोड ९३ लाखभन्दा बढी रहेको वीरगन्ज भन्सार कार्यालयले जनाएको छ । अघिल्लो आर्थिक वर्ष २०६९÷७० को समीक्षा अवधिमा तीन हजार ६६७ वटा जिप, कार, भ्यान आयातबाट कार्यालयले चार अर्ब २९ करोड चार लाख रुपैयाँ राजस्व सङ्कलन भएको वीरगन्ज भन्सार कार्यालय प्रमुख रामहरि अर्यालले जानकारी दिए । हलुका सवारीसाधानमा भन्सारको राजस्व सङ्कलन बढे पनि ठूला सवारीसाधनका चेसिस र तयारी सवारी साधनको आयात भने घटेको भन्सार प्रमुख अर्यालले बताए ।

गत आर्थिक वर्ष २०६९÷७० को पहिलो पाँच महिनामा एक हजार ४४७ वटा ट्रक–बसका चेसिस आयात भएकामा चालु वर्षको सोही अवधिमा एक हजार २०६ वटामात्र आयात भएका छन् । आयात घटेपछि राजस्वसमेत गत वर्षको तुलानामा नौ करोड ८७ लाख रुपैयाँले घटेको छ ।

नेपाल राष्ट्र बैंकले सवारीसाधनमा लगानी गर्न कडाइ गरेपछि त्यसको प्रभावले आयात घटेको व्यवसायीहरुको भनाइ छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us