फेसबुकमा एमाओवादी केन्द्रीय समिति विघटनको माग

काठमाण्डु टुडे २०७० पुष १७ गते १२:३८ मा प्रकाशित

काठमाण्डु, १७ पुस – समानुपातिक सभासदको नामावली निर्वाचन आयोगमा बुझाएसँगै प्रणालीलाई नै विवादमा तान्ने गरी विभिन्न दलका नेताहरु आन्तरिक झगडामा व्यस्त छन् ।

यही विवादका कारण राप्रपा नेपाल विभाजित हुन पुग्यो भने अन्य ठूला दलहरुमा ठूलै किचलो छ । एकाथरी नेता कार्यकर्ता विभिन्न जिल्ला कार्यालयमा तालाबन्दी, तोडफोड, आगजनी, सामूहिक राजिनामा र गुटगत भेलामा व्यस्त हुँदा अर्काथरी नेताहरु सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् ।

एमालेले राज्यलक्ष्मी गोल्छालाई सभासद बनाएर युवा नेताहरु राजेन्द्र राई, रामकुमारी झाक्री, ठाकुर गैरे लगायतलाई उपेक्षा गरेपछि सामाजिक सञ्जालहरुमा त्यसको चर्कै विरोध र व्यंग्य भयो ।

नेतृ झाक्रीले त आफूले बगाएको रगत विष्णुमतिको पानीजस्तै भयो भनेर दुखेसो पोखिन् । उनले सार्वजनिक कार्यक्रममा नै गोल्छाबाट कसले कति पैसा पायो सार्वजनिक गर्न माग गरिसकेकी छिन् ।

सबैभन्दा ठूलो दल काँग्रेसका युवा नेता गगन थापा लगायतले केन्द्रीय समिति बैठकमै नोट अफ डिसेन्ट लेखेर सार्वजनिक रुपमै पार्टी निर्णयको विरोध गरे । थापाले गुटगत भागबन्डाका आधारमा सभासद बाँढेर काँग्रेसले ऐतिहासिक कमजोरी गरेको बताइसकेका छन् ।

यस्तै तेस्रो ठूलो दल एकीकृत माओवादीमा पनि सभासद् चयनको विषयले भूकम्प नै ल्याएको छ । नेता डा. बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठले छुट्टै भेला गरिसकेका छन् भने धादिङ जिल्ला कार्यालयमा तोडफोड र आगजनी तथा पर्सामा कुर्सी हानाहान भएको छ ।

पार्टी भित्र देखिएको विवादको चर्चा सामाजिक सञ्जालहरुमा पनि रामैसंग भएको छ । केन्द्रीय नेताहरुले नै फेसबुकमार्फत विभिन्न अभिव्यक्ति सार्वजनिक गरेका छन् । ति मध्ये केही अभिव्यक्तिलाई हामीले यहाँ समेटेका छौं ।

केन्द्रीय समिति नै विघटन गर्नुपर्छ
गोविन्द आचार्य, केन्द्रीय सदस्य एमाओवादी एवम् संयोजक क्रान्तिकारी पत्रकार संघ

नेपाल पत्रकार महासंघका पूर्वउपाध्यक्ष समेत रहेका नेता आचार्य एमाओवादी अध्यक्ष प्रचण्ड निकट मानिन्छन् । उनले पार्टी पद्धतिविरुद्ध अशन्तुष्टि व्यक्त गर्दै संगठनलाई बलियो बनाउन केन्द्रीय समिति विगठन गर्दै छरितो केन्द्रीय समिति बनाउन माग गरेका छन् ।

govinda

ओवादीका वरिष्ठ नेताहरुमा चेत खुलेन चुनावमा नराम्रो झट्का खाँदा पनि एकीकृत माओवादीका केही वरिष्ठ नेताहरुमा चेत खुलेको देखिएन, सिंगो पार्टी र सबै पार्टी सदस्यको नेता हनुको साटो सानो सानो गुटकै नेता मात्र बन्न खोज्ने, पार्टीका राम्रा मान्छे भन्दा गुटका नराम्रा मान्छेहरुलाई नेतृत्व र सभासदका पदमा ल्याउन मरिमेटेर लाग्ने र आफ्नो इच्छा पूरा नभए रडाको मच्चाउने, पार्टी कमिटीका बैठकमा छलफल गर्ने र आफ्ना फरक मत भए त्यही नोट अफ डिसेन्ट लेखेर छलफल चलाउनुको साटो औपचारिक बैठक नै बहिस्कार गरेर सडक र गुटका बैठकहरु मार्फत् सिंगो पार्टी र आन्दोलनप्रति नै अविश्वास बढाउने, सैद्धान्तिक, बैचारिक र नीतिगत विषय भन्दा प्राविधिक विषयहरुलाई नै प्रमुख ठान्ने जस्ता क्रियाकलाप हेर्दा अव एमाओवादीमा सामान्य औषधी सेवनले रोग निको हुने छाट देखिदैंन ।

यस अवस्थामा एमाओवादीमा ठूलै शल्यक्रियाको आवश्यकता देखियो । पार्टीभित्र ठूलै शल्यक्रियाका लागि अहिलेको केन्द्रीय कमिटी पूरै विघटन गर्नुपर्छ, केन्द्रीय कमिटीमा रहेका १५ जना र केन्द्रीय कमिटीमा नरहेका १० जना युवा कमरेडहरु रहेको संगठनात्मक महाधिवेशन आयोजक समिति बनाउनु पर्छ र संगठनात्मक महाधिवेशनमार्फत् प्रत्यक्ष निर्वाचितहरुको बढीमा २१ जनासम्मको केन्द्रीय समिति बनाइनु पर्छ ।

माथिदेखि तलसम्म प्रत्यक्ष निर्वाचितहरुको सानो आकारका कमिटी बनाएर सिष्टममा पार्टी चलाउनु पर्छ । हेटौडा महाधिवेशनको कार्यदिशाको कार्यान्वयनका लागि सडक र जनतालाई प्रमुख र अन्य मोर्चालाई सहायक बनाएर केही स्टेपहरु तय गरेर दृढतापूर्वक कार्यान्वयनमा जानुको अव विकल्प छैन ।

 तुरुन्त सांगठनिक महाधिवेशन गर

हिमाल शर्मा, केन्द्रीय सदस्य एमओवादी
एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता डा. बाबुराम भट्टराईसँग उत्तिकै नजिक देखिने शर्मा मध्यमार्गी युवा नेताको रुपमा चिनिन्छन् । उनले यसपटक फेसबुकमा सभासद चयनपछि देखिएको विवादका विषयमा सार्वजनिक रुपमै विवाद गर्नुभन्दा सांगठनीक महाधिवेशन बोलाउन सुझाव दिएका छन् । संविधानसभाको चुनावमा प्रत्यक्षतर्फ उम्मेदवारी दिएका शर्मा काठमाण्डु ६ बाट पराजित भएका थिए ।

HImal status

‘एमाओवादीका शीर्षजनहरु केहि कुरा त बुर्जुवाबाट पनि सिके हुन्छ । सानो तुष्टिमा तिमीले बाहिर दांत वझाउँछौ, जे गर्छौ भित्र गर न । यदि, सम्हालीएनौं भने तिमीहरु सक्दैनौ । तुरुन्त सांगठनीक महाधिवेशनको आयोजना गर ।’

 

बाहिर गुनासो गरेर केही हुँदैन

युवराज चौलागाईं, केन्द्रीय सदस्य एमओवादी

विदेश विभाग सदस्यसमेत रहेका पूर्वविद्यार्थी नेता चौलागाईं एमाओवादीमा अध्यक्ष पुष्पकमल दाहालनिकट मानिन्छन् । उनले सभासद चयनमा नेतृत्वले लिएको निर्णयको बचाउ गर्दै अशन्तुष्ट नेताहरुलाई मिलेर अघि बढ्न आग्रह गरेका छन् ।

Untitled-1

एकीकृत ने. क. पा. (माओवादी) को समानुपातिकतर्फबाट सभासद् बन्ने सबै कमरेड तथा मित्रहरुलाई मेरो तर्फबाट बधाई तथा शुभकामना छ । निश्चय नै कतिपय मान्छेहरु पर्नुपर्ने थियो । कतिपय नपर्नुपर्ने थियो । जब मान्छेको बारेमा निर्णय गर्नुपर्ने बेला आउंछ, विवादहरु आउंछन नै ।

यसपटक पनि भएको त्यहि हो । यसपटक सभासद हुन नसकेकाहरुलाई अनुरोध छ बाहिर गुनासो गरेर केही हुनेवाला छैन । सबै कार्यकर्ताहरु एकै पटक सभासद हुन सक्ने होइनन् । मिलेर पार्टी संगठन विस्तारको काममा लागौं । भविष्यको मुख्य जिम्मा आखिर हामीले नै लिने हो क्या रे !

म किन सभासद बनिन ?

बलावती शर्मा, केन्द्रीय सदस्य एमओवादी
नेतृ शर्मा एमाओवादी नेता देवेन्द्र पौडेलकी श्रीमती हुन् । उपाध्यक्ष बाबुराम भट्टराई प्रधानमन्त्री हुँदा प्रमुख राजनीतिक सल्लाहकार बनेका नेता पौडेलकी श्रीमती भएकाले पनि उनलाई भट्टराई निकट मानिन्छ । उनले नेतृत्वले आफूलाई सभासद नबनाएको भन्दै अशन्तुष्टि पोखेकी छिन् ।

balawati

‘प्रत्यक्षमा टिकट दिनुहोस् म चुनाव लड्छु चन्दा तत्कालीन छनौट समितीका संयोजक पोष्ट ब. बोगटीले तपाई समानुपातीकमा बस्नुहोस् अघिल्लो पटक सभासद् नभएकोले तपाईको पक्का हुन्छ भन्नुभयो ।

त्यस्तै बाग्लुङ जिल्लका संयोजक र उम्मेदवारले पनि जिल्लाबाट तपाई नै पहिलो र पक्का समानुपातिकमा पर्नु हुन्छ भनीयो र प्रत्यक्षको उम्मेदवारीको दावा छाडें, तर अहिले समानुपातिक सूचीमा छान्दा मलाई छानिएन । पार्टीमा मापदण्ड बनाईयो । पार्टी बन्छ र सबैलाई मापदण्ड लागु हुन्छ भन्ने लागेर मैले पनि चित्त बुझाए । तर आज आएर हेर्दा मापदण्ड कँहा लागु भयो र ?

कुरा अर्कै रहेछ मापदण्ड त हामीजस्ता कार्यकर्तालाई झुक्काउनको लागि रहेछ संधैभरी पार्टी एक होस्, गुटबन्दी र विवादको अन्त्य गरि वर्ग संघर्ष र आन्दोलनलाई अगाडी बढाउनुपर्छ र पार्टीलाई एउटा पद्धतीमा चलाउनु पर्छ भन्ने मान्यता राख्ने म र मजस्ता कार्यकर्तालाई झुक्काउन मात्र रहेछ । मापदण्डको चार बुँदा मध्ये एउटा बुँदा थियो जितेका जिल्लाबाट नराखीने र अर्को बुँदा थियो पार्टी संगठनमा योगदान गरेकालाई राखिने । तर त्यसो भएन गोरखा, रुकुम, रौतहट, सिरहालगायत जितेका जिल्लाबाट किन राखियो ?

म पनि पञ्चायत विरोधी आन्दोलनमा २०४२ साल देखी संगठित हुंदै मुद्धा खेप्दै, २०४५/४६ को आन्दोलन, १० बर्षे जनयुद्ध हुदै अहिले सम्मका आन्दोलनमा निरन्तर सहभागी छु र अहिले पार्टीको केन्द्रीय सदस्य पनि छु । रबिन्द्र प्रताप शाह कुन त्याग गरेका मापदण्डमा परे, तर म र म जस्ता अरु थुप्रै त्याग गरेका नेता कार्यकर्ता किन सुचीमा अटाएनन् ? ’

युवराज दुलाल

वाइसीएल नेता, पूर्व अगरक्षक प्रचण्ड

वाइसीएल नेता दुलाल एमाओवादी अध्यक्ष प्रचण्डका पूर्वअंगरक्षक हुन् । उनले फेसबुकमा अभिव्यक्ति सार्वजनिक गर्दै नेता लीलामणि पोखरेलविरुद्ध व्यंग्य गरेका छन् । समानुपातिक उम्मेदवारको सूचीमा रहेकी श्रीमती शशी श्रेष्ठ सभासद नबनेको विरोधमा बोलचाल नै नरहेका नेता नारायणकाजी श्रेष्ठसँग छलफल गरेको विषयतर्फ उनले संकेत गरेका हुन् ।

yuvaraj dulal

‘आफ्नो श्रीमतीको नाम समानुपातीकमा नपरेको झ्वाकमा आफूसंग बोलचालन नै बन्द भए र पानी बाराबारको अवस्थामा पुकेका दुई नेताको कोटेश्वरमा मिलाप भएछ । सामानुपतिकको नाम नसञ्चीए पार्टी फुटाउनेसम्मको गफ गरेछन् । ठीकै हो गफ छलफल चलाउनु । दुवै नेताबीच मेलमीलाप हुनु यो त राम्रो कुरा हो । तर त्यो छलफलमा आफ्ना दुई छोरा पुष्प र धिरेन्द्र बस्नेत महान जनयुद्धको लागि तयार बनाएर पठाईन ति आमाको बारेमा त गफसम्म नि गरेन छौ । तर तिमीहरु भन्दा ति आमा महान् छिन् ।

उनीहरुले बरू पार्टीको समस्यालाई बुझेकी छिन् । जो साथीहरू सामानुपातिक छानिनु भयो वहांहरू सबै एमाओवादीका साथीहरू नै हो । किन यो पक्षीय, उ पक्षीय भनेर कीत्ता काट गर्छन् । तिमीहरूको हिसाब किताब पनि महान् नेपाली जनाताले राखेका छन् विचार गर ।’

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us