एमाओवादीमा बल्झियो तीन गुट

काठमाण्डु टुडे २०७० पुष १७ गते २:२९ मा प्रकाशित

काठमाण्डु–समानुपातिक सभासद् सिफारिसको विषयलाई लिएर एमाओवादीमा तीव्र विवाद सुरु भएको छ। नेता बाबुराम भट्टराई र नारायणकाजी श्रेष्ठ पक्षले छुट्टाछुट्टै गोप्य बैठक गरी समानुपातिक सूचीप्रति आपत्ति जनाउँदै सच्याउनुपर्ने माग राखेका छन् भने अध्यक्ष पुष्पकमल दाहाल पक्षले त्यसमा पुनर्विचार नगर्ने अडान लिएको छ।

नसच्याए आयोग जाने भट्टराईको चेतावनी

भट्टराईले मंगलबार बिहान दाहाललाई भेटी सूची नसच्याए निर्वाचन आयोगमा उजुरी दिने चेतावनी दिएका छन्। दाहालले सोमबार एकलौटी ढंगले बैठक नै नराखी समानुपातिक सूची बुझाएको भन्दै भट्टराई र श्रेष्ठले विरोध गरेका छन्। यो विवादलाई लिएर एमाओवादीमा फेरि यसअघिका तीनवटा समूह सतहमै प्रकट भएका छन्।

दाहाल, भट्टराई र श्रेष्ठले मंगलबार आआफ्नो समूह बनाएर रणनीतिक बैठक गरेका थिए। भट्टराई र श्रेष्ठले आफूविरुद्ध रणनीति बनाउन थालेपछि दाहालले पनि आफू पक्षधर नेतासँग परामर्श गरेको एक नेताले बताए। दुई वर्षअघि भट्टराई, श्रेष्ठ र तत्कालीन वरिष्ठ उपाध्यक्ष मोहन वैद्यले दाहालविरुद्ध मोर्चाबन्दी गरेका थिए। त्यसलाई धोबीघाट गठबन्धनका रूपमा लिने गरिन्छ। त्यसकै जगमा भट्टराई प्रधानमन्त्री बनेका थिए।

भट्टराईले ललितपुरको सानेपास्थित निवासमा आफूनिकट नेतासँग र श्रेष्ठले कोटेश्वरस्थित लीलामणि पोखरेलको निवासमा छुट्टाछुट्टै बैठक गरी दाहालले एकलौटी रूपमा समानुपातिक सूची आयोगमा पेस गरेको विरुद्ध के गर्न सकिन्छ भनेर छलफल गरेका थिए। दाहालले पनि आफ्नै निवास लाजिम्पाटमा साँझ आफू पक्षधर नेताको बैठक राखेका थिए। बैठकमा छलफलपछि दाहाल सूची नसच्याउने अडानमा पुगेको एक नेताले बताए।

पुनर्विचार नगर्ने दाहालको अडान

‘पुनर्विचार हुँदैन। पार्टीको मापदण्डअनुसार नै आयोगमा सूची बुझाइएको छ। पार्टीलाई नयाँ ढंगले अगाडि बढाउन खोजिएको छ’, दाहालको बैठकमा सहभागी एक नेताले भने, ‘भट्टराई र श्रेष्ठले चाहेअनुसारका नाम पठाउन नपाएपछि आक्रोश व्यक्त गर्नुभएको हो।’

भट्टराई पक्षका नेताहरूले २० जिल्लालाई प्रतिनिधित्वविहीन बनाइएको भन्दै समानुपातिक सूची सच्याउनुपर्नेमा जोड दिएको बैठकमा सहभागी नेता देवेन्द्र पौडेलले बताए।

‘विधि र प्रक्रिया मिलेन भन्ने विषय उठेको छ’, उनले अन्नपूर्णसँग भने, ‘केन्द्रीय कार्यालयको बैठक तुरुन्त बोलाएर सच्याउनुस् भनेका छौं।’

कोटेश्वरमा बसेको श्रेष्ठ पक्षधर नेताहरूको बैठकमा पनि विधि र प्रक्रिया मिचेर अध्यक्ष दाहालले सूची बनाएको भन्दै आक्रोश पोखिएको थियो। बैठकमा सहभागी विश्वनाथ साहले भने, ‘हामीले तपाईं किन केन्द्रीय कार्यालयको बैठकमा जानु भएन भनेर सोध्यौं, उहाँ (नारायणकाजी) ले जान आवश्यक ठानिनँ भन्नुभयो।’ साहले आयोगमा बुझाइएको सूची हेरफेर हुन नसक्ने पनि बताए। उनकी छोरी निशा साह सूचीमा परेकी छन्।

पोखरेलले आफ्नो घरमा नेताहरू चिया पिउन आएको बताए। उनले भने, ‘अहिलेको तरिकाले पार्टी चल्दैन, ठीक निर्णय लागू गरौं, गलत निर्णयविरुद्ध संघर्ष गरौं र आगामी बैठकमा अजेन्डा कसरी लैजाने भन्नेबारेमा सामान्य छलफल भयो।’  – अन्नपूर्ण पोष्ट दैनिकबाट

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us