केजरीवालले दोस्रो बाचा पनि पूरा गरे, विद्युत महशुल आधा कटौती

काठमाण्डु टुडे २०७० पुष १७ गते १:१५ मा प्रकाशित

kejariwalकाठमाण्डु, १७ पुस–भारतको नयाँदिल्ली प्रान्तका नवनियुक्त मुख्यमन्त्री अरबिन्द केजरीवालले आफ्नो चुनावी घोषणा पत्रको दोस्रो महत्वपूर्ण बाचा पनि पूरा गरेका छन् । दिल्लीका जनतालाई मासिक २० हजार लिटर निःशुल्क पानी दिने घोषणा गरेको भोलीपल्टै केजरीवालले विद्युत महशुलमा ५० प्रतिशत कटौति गर्ने निर्णय गरेका हुन् ।

चुनावी घोषणा पत्रमा बाचा गरिएको दैनिक ७ सय लिटर निःशुल्क पानी र विद्युत महशुलमा ५० प्रतिशतको बाचा पुरा गर्न अरबिन्द केजरिवाल नेतृत्वको आम आदमी पार्टीलाई चुनौती हुने अनुमान गरिएको थियो । बाचा अनुसार आम आदमी पार्टीले आफ्ना मुख्य दुई घोषणा पुरा गरेको छ ।

अब दिल्लीमा ४ सय युनिटसम्म विद्युत उपभोग गर्नेले प्रतियुनिट साविक भन्दा ५० प्रतिशत कम महशुल तिर्नु पर्ने छ । यो योजनाले २५ लाख दिल्लीका जनता लाभान्वित हुने जनाईएको छ । यो योजनाले भारतीय आर्थिक वर्षको यस बर्ष बाँकी बचेको तीन महिनामा सरकारलाई ६० करोड रुपैयाँ थप भार पर्ने छ । यसकालागि सरकारले सब्सिडी उपलब्ध गराउनु बाहेक अन्य उपाय नभएको विभिन्न विशेषज्ञहरुको भनाई छ । आम आदमी पार्टीले भने राजनीतिक मिलेमतोमा जनतासँग निकै धेरै महशुल उठाउने गरिएकोले यस्को भार सरकारलाई नपर्ने जनाएको छ ।

दिल्लीमा विद्युत वितरण निजी कम्पनीहरुले गर्छन् । निजी कम्पनीहरुको आय ब्यय विवरण अडिट गर्न निर्देशन पनि केजरीवालले दिएका छन् । स्थापनादेखि नै अडिट नगराएका ती कम्पनीहरुले अडिटको विरोध गर्दै आएका छन् ।

अरबिन्द केजरीवाल नेतृत्वको आम आदमी पार्टीको अल्पमत सरकारले अगामी जनवरी ३ का दिन दिल्ली विधान सभामा बहुमत सावित गर्नु पर्ने छ । दोस्रो स्थानमा आएको आम आदमी पार्टीसँग संसदमा २८ सिट छन् जुन बहुमत भन्दा ७ कम हो । संसदमा ८ सिट ल्याएर तेस्रो स्थानमा झरेको कंग्रेसले उसलाई समर्थन गर्ने जनाएको छ । ३२ स्थान सहित पहिलो स्थानमा आएको भारतीय जनता पार्टी बहुमत जुटाउन नसक्दा विपक्षमा बसेको छ ।

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us