ढाका उद्योगमा दक्ष जनशक्तिको अभाव

काठमाण्डु टुडे २०७० पुष १६ गते १२:४६ मा प्रकाशित

imagesकाँकडभिट्टा, १६ पुस – झापामा दक्ष जनशक्तिको अभावका कारण परम्परागत ढाका कपडा उद्योग बन्द हुँदै गएका छन् । झापा हस्तकला संघका अनुसार जिल्लाभित्र परम्परागत रूपमा सञ्चालित कैयौँ व्यावसायिक ढाका उद्योगहरू जनशक्ति र बजार अभावका कारण नै बन्द भइसकेका छन् ।

संघको तथ्याङ्कमा जिल्लामा मात्र पछिल्लो समय चार दर्जनभन्दा बढी ढाका उद्योग बन्द भएको उल्लेख छ । दमक क्षेत्रभित्र मात्र डेढ दर्जन मझौला ढाका कपडा उद्योग बन्द भएको जनाइएको छ ।

संघकी जिल्ला अध्यक्ष निरमाया पुलामीले उद्योगमा दक्ष कामदार नहुँदा लगानी नै जोखिम बन्दै गएको बताइन् । जिल्लामा ढाकाको व्यावसायिक रूपमा सञ्चालनमा रहेको उद्योग उल्लेख्य मात्रामा नभए पनि फुर्सदको समयमा सामान्य ढंगले आयआर्जनको माध्यम बनाउने उद्यमीको सङ्ख्या भने निकै उच्च रहेको छ ।

अध्यक्ष पुलामी भन्छिन्, ‘व्यावसायिक रूपमा जीविकोपार्जनका लागि सञ्चालित ढाका उद्योग सङ्कटमा परेका छन् ।’ उनका अनुसार आधुनिक पहिरनमा उपभोक्ताहरूको बढ्दो आकर्षणले समेत यस्ता परम्परागत कपडाले दाम पाउन नसकेको हो । हाते प्रविधिबाट निर्मित यस्ता ढाका उद्योगका उत्पादित सामग्री अन्य कपडाको तुलनामा महँगो पर्ने हुँदा बजार सुरक्षित हुन नसकेको उनको भनाई छ ।
अध्यक्ष पुलामीको आफ्नै प्रवीण ढाका उद्योग छ । पूर्वका बजारमा नाम कहलिएको सो उद्योगले स्थानीयसँगै विदेशसम्म निकासी गर्न सफल भएको थियो । दशकअघि सो उद्योगले ३०० तान सञ्चालन गरी लाखौँ रुपैयाँको कारोबार गर्दै आएको थियो ।

जिल्लाको पुरानो दमकको प्रवीण ढाका उद्योगमा अहिले २४ वटा मात्र तान रहेका छन् । ती तानमा पनि कामदार अभाव हुँदा चलाउन समस्या परेको पुलामी बताउँछन् ।

दमक–११ स्थित दमक ढाका उद्योग सञ्चालन गर्दै आएकी उद्यमी भक्तमाया चापागार्इंले कामदारकै अभावले उद्योग सञ्चालनमा समस्या आएको बताईन् । उनले भनिन्, ‘बजारमा मागको अवस्था सामान्य रहे पनि उत्पादन गर्न नसक्दा समस्या बनेको छ ।’

ढाका उद्योगबाट विभिन्न कपडाका समान उत्पादन हुने गरेको उद्यमीहरूको भनाइ छ । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us