भरिए पोखराका होटल

काठमाण्डु टुडे २०७० पुष १६ गते ११:३८ मा प्रकाशित

pokhara cityपोखरा, १६ पुस– पोखराको लेकसाइडमा १५ औँ सडक महोत्सव सुरु भएपछि यहाँका साना तथा ठूला होटलमा ग्राहक भरिभराउ भएका छन् ।

पश्चिमाञ्चल होटल संघमा दर्ता भएका २ सय ६५ र दर्ता नभएका त्यत्ति नै सङ्ख्यामा रहेका होटलका अहिले कुनै पनि कोठा खाली छैनन् ।

विदेशी तथा स्वदेशी पर्यटक अङ्ग्रेजी नयाँ वर्ष मनाउन र सडक महोत्सवमा रमाउनका लागि गएको शनिबारदेखि नै पोखरामा आउन थालेका छन् । पोखराको लेकसाइडदेखि खहरेसम्मको तीन किलोमिटर सडकमा सबै होटलले रेस्टुरेन्ट सञ्चालन गरी ग्राहकले रुचाएको खानेकुरा दिएर सेवा गरिरहेका छन् ।

त्यस्तै बसुन्धरा पार्कमा पनि तीन सय वटा स्टल राखेर होटलहरू सञ्चालन गरिएको छ । रेस्टुरेन्ट एन्ड बार एसोसिएसन (रेवान) पोखराले महोत्सवमा चार लाख स्वदेशी तथा विदेशी पर्यटक महोत्सव अवलोकन गर्न आउने बताएको थियो ।

अङ्ग्रेजी नयाँ वर्ष मनाउन पनि विदेशी पर्यटक पनि अत्यधिक मात्रामा पोखरा आएको बताइएको छ । पश्चिमाञ्चल होटल संघका कार्यालय सचिव भीम आचार्यका अनुसार यो समयमा बर्सेनि ठूलो सङ्ख्यामा पर्यटक पोखरा आउने गरेको बताए ।

पोखरामा बनेका साना तथा ठूला ५०० भन्दा बढी होटलमा ५० अर्बभन्दा बढीको लगानी भएको पर्यटन व्यवसायी बताउँछन् । रासस

Copyright © 2016 kathmandutoday.com Department of Information Reg No:460/074/75 About Us